

जनकपुरधाम ।
जिल्ला प्रहरी कार्यालय धनुषाले त्रैमासिक विवरण सार्वजनिक गरेको छ । प्रहरी कार्यालयले वैशाख २१ गतेदेखि असार १५ गते सम्मको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । प्रहरी कार्यालयले सार्वजनिक विवरण अनुसार लागु औषध कारोबारी, फरार अभियुक्त पक्राउ तथा अनलाइन ठगी कडाईमा अग्रसरता देखाएको देखिएको छ ।
धनुषा प्रहरीले यस अवधिमा अदालतबाट फैसला भइसकेका १ सय २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तहरुबाट कुल ७१ वर्ष ७ महिना २२ दिनको कैद र ७९ लाख ८३ हजार ६२६ रुपैया जरिवाना भुक्तान भएको जनाएको छ ।
त्यस्तै, लक्ष्मिनिया गाउँपालिका–५ की अञ्जली यादवको कर्तव्यगरि हत्या प्रकरणमा फरार रहेका उनका पति हरेराम यादवलाई समेत पक्राउ गरिएको छ । सोही क्रममा चार वर्षदेखि फरार रहेको राम स्नेही साहलाई पनि प्रहरीले पक्राउ गरी कानूनी दायरामा ल्याएको हो ।
त्यस्तै यस अवधिमा प्रहरीले ३३ लाख ७० हजार बराबरका भन्सार छलीका सामग्री बरामद गरी भन्सार कार्यालय जनकपुरमा बुझाएको छ । साथै, लागू औषध गाँजा, चरेश, ब्राउन सुगर, नाइट्रोभेट ट्याब्लेट लगायतको ओसारपसारमा संलग्न १० जनालाई नियन्त्रणमा लिई ६ वटा मुद्दा दर्ता गरिएको जनाइएको छ ।
त्यस्तै ३ महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय धनुषामा अनलाइन ठगी सम्बन्धी १५ वटा निवेदन परेका छन् । जसअन्तर्गत १ लाख ९७ हजार ४२१ रकम फिर्ता गराइएको छ । सस्तो मूल्यमा सामाग्री उपलब्ध गराउने भन्दै सामाजिक सञ्जाल मार्फत ठगी गर्ने गिरोहविरुद्ध विशेष अपरेशन सञ्चालन गरी रोशन साहसहित ९ जनालाई पक्राउ गरी ठगी, किर्ते, नागरिकता दुरुपयोग र सम्पत्ति शुद्धिकरणको कसूरमा अनुसन्धान भइरहेको छ ।
यता धनुषा प्रहरीले भारतबाट लागुऔषधसहित नेपाल प्रवेश गरेका एक युवकलाई पक्राउ गरेको छ । जनकनन्दनी गाउँपालिका–१ स्थित ईनर्वा कमला बाँधको सडकमा नियमित चेकजाँचको क्रममा प्रहरी टोलीले भारतको जयनगरबाट मलहनीया तर्फ आउँदै गरेको मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा सवार तीनमध्ये एक युवक फरार हुन खोजेका थिए । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–४ का २० वर्षीय कृष्ण ठाकुरलाई पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट प्लास्टिकमा पोको पारिएको अवस्थामा लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने ४९.५९ ग्राम पदार्थ फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
