एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) का फास्ट बलर यश दयालविरुद्ध एक युवतीले बलात्कारको आरोप लगाएकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार गाजियाबादको इन्दिरापुरममा बस्ने ती युवतीले दयालविरुद्ध अनलाइन पोर्टलमा उजुरी दर्ता गराएकी छन् । यो घटनाले खेलकुद जगतमा हंगामा मच्चाएको छ र प्रहरीले यस विषयमा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ ।
गाजियाबाद प्रहरीले आइतबार पीडितको बयान रेकर्ड गरेको छ । र, यश दयाललाई बयान रेकर्डका लागि आउन सूचना पठाएको छ । प्रहरी अधिकारीहरूले यश दयाललाई बयान रेकर्ड गर्न ढिलाइ नगर्न भनेका छन् ।
पीडितका अनुसार सन् २०१९ देखि सामाजिक सञ्जालमा यश दयालसँग कुराकानी सुरु भएको थियो । यसपछि यशले इन्स्टाग्राममा विवाहको प्रस्ताव राखे । यसपछि यशले आफूलाई लामो समयसम्म बेंगलुरुमा सँगै राखेको आरोप युवतीले लगाएकी छन् ।
पीडितले केही समययता यशले आफूलाई बेवास्ता गरेको र एक महिनाअघि सामाजिक सञ्जालमा ब्लक गरेको बयानमा बताएकी छन् । पीडितको आरोप छ, ’यशले विवाह गर्न अस्वीकार गरे । मैले विरोध गर्दा मलाई कुटपिट गरे ।’
पीडितले जुन २१ मा आईजीआरएसमा उजुरी गरिन् र जुन २५ मा सामाजिक सञ्जाल पोस्टमार्फत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग मद्दत मागिन् । युवतीले आफू आर्थिक र सामाजिक रूपमा असहाय भएको बताएकी छन् । उनले च्याट स्क्रिनसट र भिडिओ कलको रेकर्ड पनि प्रहरीसमक्ष पेस गरेकी छन् ।
यश दयाल पहिले पनि विवादमा परेका छन् । दुई वर्षअघि उनले आफ्नो इन्स्टाग्राम खातामा मुस्लिमविरोधी कुरा पोस्ट गरेका थिए । विरोध बढेपछि पछि डिलिट गरेका थिए ।