

एजेन्सी ।
भारतको संविधानबाट धर्मनिरपेक्ष हटाउन दबाब बढेको छ । भारतको सत्तारुढ बिजेपीको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघले थालेको हिन्दूराज्य अभियानमा सरकारकै मन्त्री पनि सहभागी भएका छन् ।
केन्द्रीय सरकारका कृषि मन्त्री रहेका भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा अध्यक्षका सम्भावित अनुहार शिवराज सिंह चौहानले संविधानबाट धर्मनिरपेक्ष शब्द हटाउनुपर्ने बताएका छन् ।
उनले काशी विश्वनाथमा आयोजित एक कार्यक्रममा बोल्दै सन् १९७७ को संकटकालका बेला संविधानमा घुसाइएको धर्मनिरपेक्ष शब्द हटाएर सर्व धर्म समभावको उद्देश्य राखिनुपर्ने बताएका हुन् । भारतको मूल संस्कृति धर्मनिरपेक्ष नरहेको भन्दै उनले सर्व धर्म समभाव नै देशको मूल संस्कृति भएको बताए ।
मध्यप्रदेशको मुख्यमन्त्री समेत भइसकेका चौहान भाजपाको अध्यक्षका सम्भावित दाबेदार समेत हुन् । नरेन्द्र मोदी,राजनाथ सिंह,अमित शाहजस्ता नेताभन्दा पछिल्लो वरियतामा रहेका चौहानको भनाइलाई अर्थपूर्ण मानिएको छ ।
चौहानले भारतमा समाजवाद समेत नचाहिने भन्दै श्रीरामको आदर्श नै भारतको मूल उद्देश्य र संस्कृति रहेको बताएका छन् ।
