

वाशिगंटन ।
विश्वकै ठूलो अमेरिकी ई-कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोस र टीभी प्रस्तोता लरेन सान्चेजबीच इटालीको भेनिस सहरमा भव्य समारोहका बीच विवाह भएको छ।
विवाहमा रियालिटी शोका स्टार, अभिनेता, शाही परिवारका सदस्यलगायत सेलेब्रिटी सहभागी भएका छन्।
पाहुनामा ओप्रा विन्फ्रे, ओर्लान्डो ब्लुम, काइली जेनर र इभान्का ट्रम्प पनि छन्। यी सेलेब्रिटीहरू बिहीबार र शुक्रबार यस इटालियन सहरका सडक र डुंगामा देखिएका थिए। विवाह समारोह तीन दिनको छ।
तर भेनिसका धेरै समूहले यस वैवाहिक कार्यक्रमको विरोध गरिरहेका छन्। अत्यधिक पर्यटन भन्दै स्थानीय नागरिक र जलवायु परिवर्तनका अभियानकर्ता विरोधमा उत्रिएका हुन्।
दुई अर्बपतिबीचको यो दोस्रो बिहे हो। विवाहित जोडी बनेका उनीहरू केही वर्षदेखि प्रेममा थिए भने सन् २०२३ मे महिनामा ‘इन्गेज्मेन्ट’ गरेका थिए।
बेहुला–बेहुलीको परिचय
यो वर्ष फोर्ब्सले ६१ वर्षीय बेजोसलाई संसारको तेस्रो सर्वाधिक धनी व्यक्ति घोषणा गरेको छ। उनीसँग अनुमानित २२७ अर्ब डलर बराबरको सम्पत्ति छ।
उनी विशाल ई-कमर्स कम्पनी एमजनका साथै अन्तरिक्ष प्रविधि कम्पनी ब्लु ओरिजिनका संस्थापक हुन्। यसअघिका बिहेबाट यी दुई जनाका कुल सात सन्तान छन्। बेजोसकी पूर्वपत्नी मक्केन्जी स्कटबाट तीन छोरा र एक धर्मपुत्री छन्।
पच्चीस वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याउँदै उक्त जोडीले सन् २०१९ मा एक्समार्फत सम्बन्धविच्छेद घोषणा गरेका थिए।
उता ५५ वर्षीया लरेन सान्चेज लाइसन्सप्राप्त हेलिकोप्टर पाइलट र ब्ल्याक ओप्स एभिएसनकी संस्थापक हुन्। ब्ल्याक ओप्स एभिएसन पहिलो एरिअल फिल्म तथा उत्पादन कम्पनी हो।
यसअघि सान्चेजका पार्टनर न्यासनल फुटबल लिगका भूतपूर्व खेलाडी टोनी गोन्जालेज थिए। उनीबाट एउटा छोरा छन्।
सान्चेजका पहिलो श्रीमान् मिडिआ इग्जे्कयटिभ प्याट्रिक ह्वाइटसेल थिए। उनीबाट पनि दुई सन्तान छन्। उनीहरूले १४ वर्षसम्म वैवाहिक जीवन बिताएका थिए।
हेर्नुहोस् विवाहका तस्बिरहरू:








