

भैरहवा ।
खुला सीमाः परम्परा, परस्पर निर्भरता र वर्तमान अवस्था विषयक जनसंवाद कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । नेपाल भारत खुला सीमा संवाद समूह, रुपन्देहीद्वारा आयोजित सो कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष डा. राजीव झाले कार्यपत्र प्रस्तुत गर्दै नेपाल–भारतको खुला सीमा मात्र भौगोलिक विशेषता नभई सांस्कृतिक, पारिवारिक र ऐतिहासिक सम्बन्धको जीवित प्रतीक भएको उल्लेख गर्नुभयो ।
भाषा, धर्म, रीतिरिवाज तथा पारिवारिक नातागोता यति घनिष्ठ भएकाले यी सम्बन्धलाई कृत्रिम रूपमा छुट्याउन नसकिने स्पष्ट पार्दै उहाँले भन्नुभयो खुला सीमाले सामाजिक र आर्थिक सम्बन्धलाई सहज बनाएको र सीमा क्षेत्रमा व्यापार, व्यवसाय बढाएको छ ।
सीमा क्षेत्रमा दुवै देशका सरकारहरूले विशेष व्यवस्था गरी त्यहाँका नागरिकलाई शिक्षा, स्वास्थ्य, व्यवसाय र पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने उहाँको धारणा थियो ।
संविधान सभा सदस्य तथा पूर्वमन्त्री ओमप्रकाश गुलजारीले नेपाल–भारत सम्बन्धलाई राम–सीताको सम्बन्धको संज्ञा दिँदै कसैले चाहेर पनि यो सम्बन्ध तोड्न नसक्ने बताउनुभयो ।
मधेसवादी नेता केशव झाले ऐतिहासिक दृष्टिले अंग्रेजहरूले नेपाल–भारतको सीमालाई कृत्रिम रूपमा बाँडेको स्मरण गराउँदै युरोपले युरोपियन युनियनमार्फत २६ देशको सीमा खुला राखेर प्रगति गरेको उदाहरण प्रस्तुत गर्नुभयो । रामायणकालीन समयमा जातीय व्यवस्था नरहेको र पश्चिमाहरूले हाम्रा ग्रन्थ चोरेर त्यसमा हस्तक्षेप गरी जातीय व्यवस्था लादेको षड्यन्त्र रहेको समेत उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेशका प्रदेश सांसद कन्हैया बानियाँले केही युवाहरूले तारबारको कुरा गरे पनि बहुसंख्यक जनताको भावना खुला सिमाप्रति नै रहेको बताउनुभयो । नेपाल भारत खुला सीमा संवाद समूह, रुपन्देहीका अध्यक्ष प्रशान्त गुप्ताको अध्यक्षतामा भएको सो कार्यक्रममा जनमत पार्टीका नेता भुपेन्द्र यादव, नेपाल भारत दलित मैत्री संघका अध्यक्ष ओमप्रकाश विश्वकर्मा, नेपाल भारत मैत्री संघका पूर्वअध्यक्ष मुरारीलाल अग्रवाल लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।
