

एजेन्सी ।
अमेरिकाले इरानलाई नागरिक आणविक कार्यक्रमका लागि ३० अर्ब अमेरिकी डलर सहयोग गर्ने विचार गरिरहेको रिपोर्ट सार्वजनिक भएको छ ।
सीएनएनको दाबीअनुसार ट्रम्प प्रशासनका एक अधिकारीले अमेरिकाले इरानलाई २०÷३० अर्ब डलरको सहायता प्रस्ताव गर्न सक्ने बताएका हुन् । ती अधिकारीका अनुसार बदलामा इरानले युरेनियम संवर्धन पूर्ण रूपमा बन्द गर्नुपर्नेछ । इरानको घरेलु ऊर्जा आवश्यकता पूरा गर्न र आणविक बम निर्माण गर्नबाट रोक्न यो योजना अघि सारिएको हो ।
इरानसँग रोकिएको आणविक वार्ता पुनः सुरु गर्ने प्रयासमा शीर्ष अमेरिकी र पश्चिम एसियाली अधिकारी तेहरान (इरानको राजधानी) सँग सम्पर्कमा रहेको पनि सीएनएनले दाबी गरेको छ । यसैबीच पश्चिम एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले पनि इरानसँग व्यापक शान्ति सम्झौताको आशा व्यक्त गरेका छन् ।
यही जुन २२ मा अमेरिकाले इरानका आणविक स्थलहमा बंकर बस्टर बम खसालेको थियो । त्यसको एक हप्ता पनि नबित्दै ट्रम्पले इरानसँग वार्ता सुरु गर्ने प्रयास गरिरहेको बताइएको छ ।
