

जनकपुरधाम ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा मधेस सरकारले जनकपुरधाम–ढल्केवर सडकखण्डमा वृक्षारोपण गर्दै वातावरण संरक्षणको सन्देश दिएको छ । मधेस प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा सम्पन्न वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री सतिशकुमार सिंहको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री सिंहले वातावरणमा दिनदिनै परिरहेको नकारात्मक असरलाई न्यून गर्न वृक्षारोपण अपरिहार्य भएको उल्लेख गर्दै, ‘मधेस सरकार वातावरण संरक्षणप्रति गम्भीर छ, त्यसैले हामीले ‘एक व्यक्ति, एक रुख’ भन्ने नारा अगाडि सारेका हौं,’ भन्ने धारणा व्यक्त गरे । उनले बढ्दो तापक्रमको असरबाट बच्न वृक्षारोपणलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
वन तथा वातावरण मन्त्री संजयकुमार यादवले प्रदेश सरकारले ‘हरित प्रदेश’ बनाउने लक्ष्यसहित वृक्षारोपण अभियान अघि बढाएको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा जनकपुरधाम–ढल्केवर सडकखण्डमा ४ हजार ४ सय बिरुवा रोपिनेछ ।
मन्त्री यादवले अभियान साप्ताहिकरूपमा सञ्चालन गरिने र कुल २० लाख बिरुवा रोप्ने दीर्घकालीन लक्ष्य रहेको पनि स्पष्ट पारे । उनले रोपिएका बिरुवाको संरक्षणका लागि आवश्यक जनशक्ति परिचालन गरिने जानकारी समेत दिए ।
यस अभियानमार्फत मधेस सरकारले वातावरणीय सन्तुलन कायम गर्नुका साथै जनचेतना अभिवृद्धि गर्ने अपेक्षा राखेको छ । कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारी, स्थानीय, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीको समेत सहभागिता रहेको थियो ।
