

काठमाडौँ ।
अर्थमन्त्री विष्णु पौडेलले सुनमा देखिएको अवैध कारोबार नियन्त्रणका लागि विलासिता कर लगाइएको बताएका छन् । यो कर व्यवसायीले नभई उपभोक्ताले तिर्ने उनले स्पष्ट गरे ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थमन्त्रालयसँग सम्बन्धित सांसदका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पौडेलले विलासिता करले सुन व्यवसायीको कारोबारमा समेत पारदर्शिता आउने बताएका हुन् ।
‘सुनमा लगाइएको विलासिता कर वास्तवमा इन्डाइरेक्ट ट्याक्स हो, सुनका व्यवसायीलाई नभई उपभोक्ताले तिर्ने हो, विलासिता करबाट सुनमा देखिएको अवैध कारोबार नियन्त्रण हुने अपेक्षा गरिएको छ,’ मन्त्री पौडेलले भने, ‘यसबाट व्यवसायीको कारोबारमा समेत पारदर्शिता आउने अपेक्षा गरिएको छ । यसमा लगाइएको कर बढाइएको होइन, दायरा बढाइएको हो ।’
मन्त्री पौडेलले व्यवसायीका गुनासाहरू सरकारले सुन्ने बताए । बजेटमार्फत सुनमा विलासिता कर लगाइएको भन्दै देशभरका सुनचाँदी व्यवसायीले पसल नै बन्द गरेर कर नीतिको विरोध गरेका थिए ।
मन्त्री पौडेलले सरकारले लिएको पछिल्लो नीतिको प्रभावकारी कार्यान्वयनका लागि सहजीकरण गर्ने समेत बताए । बजेटको मूल विधेयक मानिने विनियोजन विधेयक सोमबार प्रतिनिधिसभाबाट पारित गर्ने तयारी छ ।
