

काठमाडौं ।
भिजिट भिसाको विषयमा छानबिन गर्न सोमबार मन्त्रिपरिषदले गठन गरेको छानबिन समितिलाई संसदमा आन्दोलनरत दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वीकार नगर्ने भएको छ । आजको संसद बैठकमा पार्टीको अडान परिवर्तन नहुने पार्टीका प्रवक्ता मनिष झाले बताए ।
छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपाले संसद बैठकमा वेल घेराउ तथा बहिष्कार गर्दै आएको छ । यद्यपि, रास्वपाको अवरोधकै बीच पनि सभामुख देवराज घिमिरेले बैठकलाई निरन्तरता दिइरहेका छन् । आज संसद बैठकबाट बजेट पारित गर्ने कार्यसूची छ । यो प्रक्रियामा पार्टीको सहभागिता नरहने प्रवक्ता झाले जानकारी दिए ।
आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रास्वपाले निर्णय लिन बाँकी छ । यस विषयमा छलफलका लागि अहिले पार्टी संसदीय दलको अनौपचारिक बैठक बसिरहेको छ । वेल घेराउ गर्ने कि बहिष्कार गर्ने वा विरोधका अन्य स्वरूपमा जाने भन्ने छलफलले निर्णय लिने झा बताउँछन् ।
हिजो राति बसेको मन्त्रिपरिषद बैठकले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो । समितिलाई छानबिनका लागि एक महिनाको समय दिइएको छ । सम्बन्धित मन्त्रालयका सहसचिवहरू छानबिन समितिमा सदस्य रहनेछन् ।
रास्वपाले भने छानबिनमा तानिनुपर्ने गृहमन्त्री आफैँले प्रस्ताव लगेर समिति गठन भएकोप्रति नै आपत्ति जनाएको छ ।
झा भन्छन्, ‘उहाँ आफैँ आरोपित हो । एउटा आरोपितले आफूमाथि छानबिन गर्न आफैँले समिति बनाउने कुरा अस्वाभाविक छ । यो केवल उहाँलाई सुनपानी छर्किनका लागि गरिएको प्रपञ्च मात्र हो । हामी यसलाई स्वीकार गर्दैनौँ ।’
