

एजेन्सी ।
इरानले कतारस्थित सैन्य सुरक्षा बेसमा मिसाइल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्नतः यो युद्धलाई नलम्ब्याउने पक्षमा पुगेका छन् ।
इजरायलले आणविक हतियार राखेको आरोपमा आक्रमण थालेको एक सातापछि युद्धमा जोडिएको अमेरिकाले इरानका तीन आणविक केन्द्रमा बम हानेको थियो । तर उसको उक्त निर्णय प्रत्युत्पादक सावित भयो । इरानले गएराति कतारस्थि अमेरिकी सैन्य बेसमै ६ वटा मिसाइल हानेर धावा बोलिदियो । त्यसपछि इरानको शासक नै फेर्ने अभियानमा रहेका ट्रम्प युद्ध विराम घोषणा गर्न पुगेका छन् ।
इरानको सरकारी समाचार एजेन्सी इरान इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स ९(आईआरजीसी) को वक्तव्य उद्धृत गर्दै इरानबाट प्रक्षेपित ६ वटा मिसाइल कतारको अल उदैदस्थित अमेरिकी सैन्य बेसमा खसेको पुष्टि गरेको छ ।
यस आक्रमणलाई गत साता अमेरिकाद्वारा इरानका प्रमुख परमाणु स्थलमा गरिएका हवाई आक्रमणको प्रतिशोधस्वरूप गरिएको थियोे । तर, कतारले यस दाबीको खण्डन गर्दै इरानबाट जम्मा १९ वटा मिसाइल प्रक्षेपण भएको जनाएको छ । तीमध्ये एकमात्र मिसाइल बेसमा लागेको कतारको दाबी छ । बाँकी सबै कतारी हवाई सुरक्षा प्रणालीले खसालिएको दाबी कतारले गरेको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले कतारस्थित अमेरिकी सैन्य हवाई बेस अल उदैदमा मिसाइल आक्रमण गरेको पुष्टि गरेको छ । उसले चेतावनी दिँदै यदि अमेरिका वा उसका सहयोगीले फेरि आक्रामक कार्य गरे इरानले बल प्रयोग गरेर जवाफ दिने जनाएको थियो ।
आक्रमणको बेलामा दोहाको आकाशमा आगोको ज्वालाहरू देखिएका थिए । अल उदैदको मिसाइल रक्षा प्रणाली सक्रिय रहेको दृश्य पनि देखिएको थियो । कतारको राजधानी वरिपरि धेरै ठूला विस्फोटहरूको आवाज पनि सुनिएको थियो ।
कतारको परराष्ट्र मन्त्रालयले यो आक्रमणलाई कतारको सार्वभौमिकता, हवाई क्षेत्र र संयुक्त राष्ट्रसंघको चार्टरको उल्लंघन भनेको थियो । दोहाले आवश्यक परे जवाफ दिने अधिकार सुरक्षित राखेको बताएको थियो ।
कतारको रक्षा मन्त्रालयले १९ वटा मिसाइलमध्ये १८ वटा आकाशमै खसालिएको जनाएको थियो । एउटा मिसाइल बेसमा खसे पनि कुनै हताहत नभएको दाबी कतारले गरेको थियो ।
उता इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले आक्रमण आवासीय क्षेत्रभन्दा टाढा गरिएको जनायो । यसले कतारजस्तो मित्र राष्ट्रमा कुनै खतरा उत्पन्न नगर्ने दाबी उसले गरेको थियो ।
त्यस आक्रमणलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच पूर्ण युद्धविरामको सहमति भएको बताएका छन् । यसले जारी द्वन्द्वको अन्त्य हुने आशा गरिएको छ । यद्यपि इरान इजरायलबीचको युद्ध भने अझै जारी छ ।
