

एजेन्सी ।
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले हत्याको डरले सबै इलेक्ट्रोनिक सञ्चार बन्द गरेका छन् । उनी हाल आफ्नो ‘विश्वसनीय सहयोगी’मार्फत इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का शीर्ष सैन्य कमान्डरहरूसँग कुरा गरिरहेका छन् ।
यो दाबी न्युयोर्क टाइम्सले तीन जना नाम नखुलाइएका इरानी अधिकारीहरूलाई उद्धृत गर्दै गरेको हो ।
इजरायलले पहिले नै खामेनी पनि बाँकी नरहने धम्की दिइसकेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले खामेनीलाई यो सम्पूर्ण द्वन्द्वको जड ठानेका छन् । अर्कातर्फ अमेरिकाले पनि खामेनीलाई खोजिरहेको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको दुई दिनअघि भनेका थिए, ‘हामीलाई थाहा छ– इरानका सर्वोच्च नेता कहाँ लुकेका छन् । तर हामी अहिले नै उनलाई मार्दैनाौँ । ’ खामेनी हत्याको डरले अत्यन्तै सुरक्षित बंकरमा लुकिरहेको रिपोर्ट पनि आइरहेको छ ।
न्युयोर्क टाइम्सले आफ्नो रिपोर्टमा खामेनीले आफ्नो हत्या हुने आशंकामा तीन वरिष्ठ धर्मगुरुलाई आफ्नो उत्तराधिकारीका रूपमा नाम दिएको उल्लेख गरेको छ । तीमध्ये एक जनालाई आफ्नो उत्तराधिकारी बनाउन सर्वोच्च नेता नियुक्त गर्ने जिम्मेवारी पाएको इरानको विशेषज्ञहरूको सभालाई उनले निर्देशन दिएका छन् ।
