

काठमाडौँ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता मिश्राले लिएको बिदा असार ६ गतेबाट सकिएको छ । तर उनी अझै मन्त्रालयमा हाजिर भएकी छैनन् ।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले ६ गतेबाट अतिरिक्त सचिव डा. मिश्राले लिएको बिदा सकिए पनि आजसम्म मन्त्रालयमा हाजिर हुन नआएको जानकारी दिएको हो ।
‘उहाँको बिदा ६ गतेबाट सकिएको हो । तर, आजसम्म हाजिर हुनुभएको छैन । प्रशासन शाखामा क्याबी (भइपरी बिदा) लेखिदिन भन्नुभएको थियो । हामीले स्वीकृत नभई क्याबी लेख्न नसकिने जानकारी गराएका थियौँ । तर, हाजिर हुनुभएको छैन,’ कर्मचारी प्रशासन शाखाका एक कर्मचारीले भने ।
सचिव बढुवामा असन्तुष्ट रहेकी डा. मिश्रा गत फागुन २२ गतेदेखि बिदामा छिन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपयुक्त जिम्मेवारी नदिएको भन्दै बिदामा रहेकी उनलाई मन्त्रालयको समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
पहिला घर बिदा बसेकी डा. मिश्रा त्यो बिदा सकिएपछि भइपरी आउने बिदा लिएर बस्दै आएकी थिइन् ।
