

जनकपुरधाम ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाले धनुषाधाम नगरपालिका–३ का वडाध्यक्ष जयनारायण यादवद्वारा संचारकर्मीमाथि गरिएको अभद्र व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ ।
असार ७ गते सडक निर्माणको क्रममा जग्गा मिचेर आफ्नो स्वार्थमा उपयोग गरिएको भन्ने गुनासो आएपछि सो विषयमा स्थलगत रिपोर्टिङका लागि प्राइम टिभी र टिभी टुडेका पत्रकार चाँदनी झा घटनास्थल पुगेकी थिइन् । घटनाबारे दुबै पक्षको धारणा लिन खोज्ने क्रममा पत्रकार झाले वडाध्यक्ष यादवलाई सम्पर्क गरेकी थिइन् । तर वडाध्यक्ष यादवले फोनमै ‘तँ कुन पत्रकार हो ?’ भन्दै अश्लिल भाषाको प्रयोग गरेका थिए भने आफ्ना कार्यकर्तालाई पत्रकारलाई झापड हान्न आदेश दिएको पत्रकार महासंघ धनुषाको आरोप छ । पत्रकारमाथि सार्वजनिक रूपमा हातपात गर्न उक्साउने अभिव्यक्तिलाई महासंघले गैरजिम्मेवार, अपमानजनक र प्रेस स्वतन्त्रताको उल्लंघनको संज्ञा दिएको छ ।
महासंघले वडाध्यक्ष यादवप्रति खेद प्रकट गर्दै उनलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
