

काठमाडौँ ।
चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा (साउनदेखि जेठसम्म) नेपालको निर्यात व्यापारमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागका अनुसार वैशाख मसान्तसम्म २ खर्ब १८ अर्ब रुपैयाँमा रहेको निर्यात जेठ मसान्तसम्म बढेर २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७.७७ प्रतिशतले वृद्धि हो ।
अघिल्लो वर्ष यसै अवधिमा १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको थियो । यस वर्ष वनस्पति तेलको निर्यातमा आएको तीव्र वृद्धि नै समग्र निर्यात वृद्धिको मुख्य कारक मानिएको छ ।
आयात पनि वृद्धि, तर निर्यातको हिस्सा उल्लेखनीय
जेठ मसान्तसम्म आयात १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.१५ प्रतिशतले बढी हो । एक महिनामै करिब १ खर्ब ७० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । समग्र वैदेशिक व्यापार वैशाखको तुलनामा जेठमा करिब २ खर्ब रुपैयाँले बढेर १८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । वैदेशिक व्यापारको आकार गत वर्षको तुलनामा १८.८० प्रतिशतले बढेको छ । निर्यातको हिस्सा १३.०८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४९.६५ प्रतिशतले बढी हो । आयातको हिस्सा घटेर ८६.९२ प्रतिशतमा सीमित भएको छ ।
व्यापार घाटा घट्दो अवस्थामा
निर्यातमा आएको वृद्धिका बाबजुद व्यापार घाटा भने ६ प्रतिशत मात्र बढेको छ । जेठ मसान्तसम्मको व्यापार घाटा १३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १३ खर्ब १४ अर्ब रुपैयाँ थियो । आयात÷निर्यात अनुपात घटेर ६.६४ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३६.३५ प्रतिशत कम हो ।
इन्धन र सवारीसाधन आयातमा ठूला खर्च
११ महिनामा नेपालले करिब २ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको इन्धन (पेट्रोल, डिजेल, एलपीजी, हवाई इन्धन) आयात गरेको छ । सवारीसाधन आयात पनि १ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । विद्युतीय सवारीसाधन र इलेक्ट्रिक उपकरणको आयातमा समेत उल्लेखनीय वृद्धि भएको छ ।
सबैभन्दा धेरै आयात भएका वस्तुहरूः
डिजेलः १ खर्ब १५ अर्ब ५५ करोड
कच्चा सोयाविन तेलः ९५ अर्ब ७२ करोड
पेट्रोलः ५८ अर्ब ५८ करोड
एलपीजी ग्यासः ५७ अर्ब ३६ करोड
स्मार्टफोनः ३२ अर्ब ८ करोड
कच्चा सूर्यमुखी तेलः २६ अर्ब ८७ करोड
सुनः १७ अर्ब १२ करोड
मुख्य निर्यात वस्तुहरूः
सोयाविन तेलः ९३ अर्ब ५१ करोड
सूर्यमुखी तेलः ११ अर्ब ३३ करोड
कार्पेटः ९ अर्ब ७८ करोड
अलैचीः ७ अर्ब १९ करोड
रोल्ड आइरन/स्टीलः ५ अर्ब १३ करोड
