

एजेन्सी ।
इरानसँग चर्किएको युद्धमा इजरायलले आफूमाथि भएको क्षति विवरण सार्वजनिक गरेको छ ।
इजरायली राष्ट्रिय सार्वजनिक कूटनीति निर्देशनालयले सार्वजनिक गरेको विवरणमा इरानी मिसाइल तथा ड्रोन आक्रमणका कारण देशका विभिन्न स्थानमा नराम्रो असर परेको उल्लेख छ ।
गृह सुरक्षा संयन्त्र, कर प्राधिकरण तथा उद्धार निकायहरूले संकलन गरेका तथ्यांकले युद्धको भयावह स्थितिलाई पुष्टि गरेका छन् ।
रिपोर्ट अनुसार, इरानले हालसम्म इजरायलतर्फ ४०० भन्दा बढी मिसाइल प्रहार गरेको छ । त्यस्तै, सयौंको संख्यामा ड्रोनबाट पनि इजरायलमा आक्रमण गरिएको उक्त विवरणमा सामेल छ ।
ती आक्रमणहरूले तेल अविवसहित ४० भन्दा बढी स्थानमा प्रत्यक्ष प्रभाव पारेका छन् । ती स्थानमा आवासीय क्षेत्र, औद्योगिक संरचना, यातायात प्रणाली र नागरिक पूर्वाधार विशेष रूपमा प्रभावित भएका छन् ।
हमलाका कारण इजरायलमा हालसम्म २४ जनाको मृत्यु भइसकेको छ भने ८३८ जना नागरिक घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको, ४२ जना मध्यम घाइते र ७८५ जनालाई सामान्य चोटपटक लागेको बताइएको छ ।
देशभरका अस्पतालमा आकस्मिक उपचार सेवा सक्रिय अवस्थामा राखिएको छ । घाइतेको उपचारमा अत्यधिक दबाव परेको अधिकारीहरूले जनाएका छन् ।
भौतिक क्षतिको विवरण झन् भयावह छ । इजरायलको कर प्राधिकरणले हालसम्म २२ हजार ९३२ वटा क्षतिपूर्ति दाबी प्राप्त गरेको जनाएको छ ।
तीमध्ये १८ हजार ८९० वटा दाबी भवनसँग सम्बन्धित छन् । १८ सय २७ वटा सवारी साधन क्षतिग्रस्त भएका छन् भने २ हजार २१५ अन्य सम्पत्तिमा समेत क्षति पुगेको विवरण आएको छ । युद्धका कारण देशका मुख्य व्यापारिक केन्द्र, विद्यालय र यातायात सेवा समेत बन्द रहेका छन् ।
इजरायलको गृह सुरक्षा कमाण्डका अनुसार युद्धको उच्च जोखिममा रहेका क्षेत्रबाट ५ हजार भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । तीमध्ये धेरैजसो वृद्ध, बालबालिका र महिला छन् ।
स्थानान्तरण गरिएका नागरिकलाई अस्थायी शिविर, होटल र सामुदायिक केन्द्रमा राखिएको छ । सुरक्षा संयन्त्र, आपतकालीन निकाय, सेना र स्थानीय प्रशासन उच्च सतर्कतामा छन् ।
इजरायली सरकारले नागरिकलाई आपतकालीन निर्देशनको कडाइका साथ पालना गर्न आग्रह गरेको छ । रेड अलर्ट प्रणालीमार्फत् मिसाइलको खतराबारे तुरुन्त जानकारी दिने व्यवस्था सक्रिय अवस्थामा छ ।
नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न, आकस्मिक सामग्री तयार राख्न र सरकारको निर्देशन पालना गर्न निर्देशन दिइएको छ ।
इरानको जवाफी हमलासँगै इजरायलभित्रै युद्धको असर तीव्र रूपमा फैलिएको छ । ‘अपरेसन राइजिङ लायन’का क्रममा इजरायलले इरानको आणविक तथा सैन्य संरचनामा लक्षित हमला जारी राखेको बेला इरानको जवाफी कारबाहीले इजरायलीभित्र पनि ठूलो क्षति पु¥याइरहेको छ ।
युद्ध कति लम्बिन्छ भन्ने यकिन छैन, तर यसले मध्यपूर्वमा थप तनाव बढाउने देखिएको छ ।
