

एजेन्सी ।
भारत र इङ्ल्यान्डबीच यसै महिना हुने टेस्ट क्रिकेट शृंखलालाई लिएर नाम परिवर्तनको विषयमा विवाद चुलिएको छ । पाँच खेलको शृंखला जुन २० तारिखदेखि इङ्ल्यान्डमा सुरु हुँदैछ ।
अहिलेसम्म ’पटौदी ट्रफी’ का नाममा चिनिँदै आएको यो द्विपक्षीय टेस्ट शृंखलालाई भारत र इङ्ल्यान्डका पूर्वमहान खेलाडी सचिन तेन्दुलकर र जेम्स एन्डरसनको नाममा ’तेन्दुलकर–एन्डरसन ट्रफी’ राखिएको हो । नाम परिवर्तन भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)को आपसी सहमतिमा गरिएको हो ।
तर, नाम परिवर्तनले दुवै देशका पूर्वखेलाडीहरूलाई असन्तुष्ट बनाएको छ । भारतका पूर्वकप्तान सुनिल गावस्करले सार्वजनिक रूपमा विरोध जनाउँदै शृंखलाको पुरानो नाम नै राख्न आग्रह गरेका छन् ।
सचिन तेन्दुलकर आफैंले समेत यस विषयमा असहमति जनाएका छन् । उनले पटौदी ट्रफीको ऐतिहासिक महत्वलाई सम्झाउँदै नाम परिवर्तनको निर्णय फिर्ता लिन आग्रह गरेका छन् । तेन्दुलकरले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अध्यक्ष जय शाहसँग पनि नाम पुनः पटौदी ट्रफी राख्न अनुरोध गरेका छन् ।
आईसीसी अध्यक्ष जय शाहले पनि नाम परिवर्तनलाई सही निर्णय रहेको भन्दै आलोचना गरेका छन् ।
यस शृंखलाको नाम सन् २००७ मा ‘पटौदी ट्रफी’ राखिएको थियो । यो नाम भारत र इङ्ल्यान्ड दुवै टोलीबाट खेलेका एकमात्र क्रिकेटर इफ्तिखार अली खान पटौदीको सम्मानमा राखिएको हो । उनका छोरा मंसुर अली खान पटौदी पनि भारतीय क्रिकेट टीमका पूर्व कप्तान हुन् ।
