

एजेन्सी ।
यही जुन १२ तारिख (जेठ २९) गुजरातको अहमदाबादमा २४१ जनाको मृत्यु हुने गरी भएको एयर इन्डिया विमान दुर्घटनाबारे भारत सरकारले औपचारिक अनुसन्धान थालेको छ ।
देशका नागरिक उड्डयन मन्त्री राम मोहन नायडु किन्जारापुले विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) ले दुर्घटनाबारे औपचारिक अनुसन्धान सुरु गरेको जानकारी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा एक्समा भनेका छन्, ‘विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) ले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ) ले निर्धारण गरेको प्रोटोकलअन्तर्गत दुर्घटनाको औपचारिक अनुसन्धान सुरु गरेको छ ।’
सँगसँगै सरकारले यस विषयमा विस्तृत रूपमा अनुसन्धान गर्न विभिन्न विषयका विज्ञहरूको उच्चस्तरीय समिति गठन पनि गठन गर्ने उनले बताएका छन् । उनले भनेका छन्, ‘यो समितिले उड्डयन सुरक्षा सुदृढ पार्न र भविष्यमा यस्ता घटना हुन नदिन काम गर्नेछ ।’
गत बिहीबार दिउँसो अहमदाबादस्थित सरदार बल्लव भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट चालक दलसमेत २४२ जना यात्रु बोकेर लन्डनका लागि उडेको २ मिनेटभन्दा कम समयमै एयर इन्डियाको विमान बोइङ ७८७–८ ड्रिमलाइनर घना बस्ती भएको क्षेत्रमा खसेको थियो ।
दुर्घटनामा एक यात्रु मात्र बाँच्न सफल भए भने अरू सबैको मृत्यु भयो । त्यति मात्र होइन, विमान खसेको भवनमा बसेका धेरै जनाको मृत्यु भयो । हालसम्म २७० शव भेटिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
उक्त दुर्घटना अनुसनधानमा सघाउन बेलायती अनुसन्धानकर्ताहरूको टोली पनि अहमदाबाद आइपुगेको छ ।
शुक्रबार मात्र त्यस विमानको ब्ल्याक बक्स फेला परेको छ । यसले विमानको दुर्घटनाको कारण पत्ता लगाउन सहयोग पुग्ने विज्ञहरूले बताएका छन् । यसबीच भारतका कतिपय उड्डयन विज्ञले चरामा ठोकिएर पो विमान खसेको हो कि भन्ने आशंका पनि गरेका छन् ।
