Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रतिवादीलाई रात बिताउन प्रस्ताव गरेको आरोपमा न्यायाधीशमाथि छानबिन





रसुवा ।

अदालतमा विचाराधीन मुद्दाको प्रतिवादी समेत रहेकी एक महिलालाई आफूसँग रात बिताउन प्रस्ताव गरेको आरोपमा रसुवा जिल्ला अदालतका न्यायाधीश भुवनसिंह थापा कारबाहीमा परेका छन् ।

बहुविवाह मुद्दामा थुनामा पठाएका प्रतिवादीलाई सफाइ दिनका लागि आफूसँग रात बिताउनुपर्ने भनेर उनकी पत्नीलाई प्रस्ताव गरेको आरोपसहित न्याय परिषदमा उजुरी परेपछि न्यायाधीश थापा कारबाहीमा परेका हुन् । बहुविवाह मुद्दामा प्रतिवादी कायम गरिएकी ती महिलाले दिएको उजुरीका आधारमा न्यायपरिषदले छानबिनका लागि गत मंगलबार (जेठ २० गते) जिल्ला न्यायाधीश भुवन सिंह थापालाई न्याय परिषदमा तानेको हो ।

गत मंगलबार तानिएका न्यायाधीश थापा केही दिन न्यायपरिषदमा हाजिर भएपनि अहिले ढाड दुखेर बिरामी भएँ भन्दै बिदामा बसेका छन् ।

के हो विषय ?

रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर १ घर भएकी बुट्टी तामाङले आफ्ना श्रीमान् लाक्पा तामाङ र सविना बास्कोटालाई प्रतिवादी बनाई बहुविवाहको मुद्दामा प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीबमोजिम प्रहरीले लाक्पालाई पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत २०८१ चैत २५ गते रसुवा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

न्यायाधीश थापाको इजलासले सोही दिन मुद्दाको थुनछेक सुनुवाइमा लाक्पालाई थुनामा पठाउने आदेश गरेका थिए । प्रतिवादी लाक्पा र सविना दुवैलाई प्रतिवादी कायम गरिएकोमा प्रहरीले लाक्पालाई मात्र पक्राउ गरी मुद्दा बुझाएकाले अदालतले लाक्पालाई मात्र थुनामा पठाएको थियो ।

‘प्रहरीले सविनालाई पक्राउ गरेर ल्याएको थिएन, लाक्पालाई मात्र पक्राउ गरेको थियो,’ न्यायाधीश थापाले  भने, ‘अनुसन्धानका क्रममा दोस्रो विवाह गरेको साविती बयान, छोरा समेत जन्मिएको भन्ने साविती बयान र जाहेरवालाले दिएको जाहेरीको आधारमा मैले लाक्पालाई थुनामा पठाउन आदेश गरेको थिएँ ।’

पछि अर्की प्रतिवादी सविना अदालतमा उपस्थित भएपनि उनलाई थुनामा नपठाएको उनले बताए । ‘यो बहुविवाहको मुद्दा नै होइन । जेठी श्रीमती अरूसँग पोइल गएपछि बिहे गरेको बयान दिएपछि उनलाई थुनामा पठाइएन,’ न्यायाधीश थापाले  भने ।

त्यसपछि उक्त मुद्दाको सुनुवाइका लागि २०८२ जेठ १ गते पेशी तोकिँदा न्यायाधीश थापाले साक्षी बुझ्ने आदेश गरेको देखिन्छ । त्यसपछि पुनः जेठ १३ गते पेशी तोकिएकोमा वैतनिक कानून व्यवसायी नियुक्त गर्ने तथा सूचना दिने आदेश भएको देखिन्छ । त्यसपछि २०८२ जेठ २८ गते पनि पेशी तोकिएकोमा न्यायाधीश थापाको सरुवा भएकाले स्थगित भएको देखिन्छ ।

‘उनीहरूले जेठ १८ अघिको सातामा पेशी तोक्न भनेका थिए । तर, मेरो ढाड दुखेको हुनाले काठमाडौंमा डाक्टरसँग अप्वाइन्टमेन्ट समेत लिइसकेको अवस्थामा असार १८ पछि पेशी राखौंला भनेको थिएँ,’ न्यायाधीश थापाले  भने, ‘त्यसैले सफाइ नदिनका लागि न्यायाधीशले पेशी सार्‍यो भन्ने लागेर ममाथि आरोप लगाएकी हुन् ।’

null

फोन तथा ह्वाट्सएपमा न्यायाधीश र झगडियाबीच संवाद

मोबाइल फोन र ह्वाट्सएपमा ती झगडिया महिलासँग संवाद भएपनि त्यसको पहल आफूले नगरेको न्यायाधीश थापाले बताएका छन् ।

‘कताबाट उहाँले मेरो मोबाइल नम्बर पत्ता लगाएर फोन गर्नुभयो । सेभ नभएको हुनाले मैले उठाइहालें,’ थापाले  भने, ‘मेरो श्रीमानलाई सफाइ दिएर छाडिदिनुपर्‍यो भनेर उहाँले फोनमा भन्नुभयो । त्यसपछि मैले मुद्दाको विषयमा इजलासमै कुरा गर्नुहोला भनेर राखिदिएँ ।’

त्यसपछि ती महिलाले आफूलाई सामाजिक सञ्जाल फेसबूकमा फ्रेन्ड रिक्वेस्ट पठाए पनि आफूले एक्सेप्ट नगरेको उनको जिकिर छ ।

‘पछि ह्वाट्सएपमा हेलो भनेर म्यासेज आएपछि मैले पनि हेलो भनें । त्यसपछि उनले नमस्ते गरेपछि मैले पनि नमस्ते भनें,’ थापाले थपे, ‘उनले मुद्दामा प्रभाव पार्न खोजिन् । मुद्दामा प्रभाव पार्न खोजेपछि मैले थप संवाद गरिनँ ।’

त्यसपछि ह्वाट्सएप म्यासेन्जरमा उनले कल गरे पनि आफूले नउठाएको जिकिर उनले गरे । ‘इजलासमै पनि आफ्नो श्रीमानलाई रिहा गरिदिनुपर्‍यो भनेर भन्दै आएकोमा आफूले सिरियसली नलिनु र उनको श्रीमानलाई थुनामा पठाउने आदेश गर्नु नै मेरो लागि ब्याडलक भयो,’ उनले थपे, ‘एकरात बिताएपछि तपाईंको श्रीमानलाई रिहा गरिदिन्छु भन्यो भनेर उहाँले लगाउनुभएको आरोपमा केही सत्यता छैन । त्यस्तो केही भएको पनि होइन ।’

न्यायपरिषदको छानबिनबाट पनि झगडियासँग संवाद गरेको कुरा पुष्टि भएको तथा थप छानबिन गर्नुपर्ने विषय देखिएको भन्ने प्रश्नमा उनले त्यस्तो केही नभएको जवाफ दिए ।

न्यायपरिषदमा उजुरी परेपछि आफूलाई त्यहाँबाट तानिएको भए पनि अहिलेसम्म केही स्पष्टीकरण नसोधिएको उनले बताए ।

‘न त मलाई न्यायपरिषदले अहिलेसम्म कुनै स्पष्टीकरण सोधेको छ, न त मसँग बयान नै लिएको छ,’ थापाले थपे, ‘न्यायपरिषदले मसँग केही सोधपुछ नै नगरेको अवस्थामा न्यायपरिषद्को छानबिनमा पनि दोषी पाइयो भनेर भन्न मिल्दैन ।’

न्यायाधीशले झगडियासँग कुनै पनि किसिमले संवाद गर्नु न्यायाधीश आचारसंहिताविपरीत हुन्छ ।

उजुरीकर्ता महिलाले लगाएको आरोपबारे छानबिन भइरहेको न्यायपरिषद् स्रोतले जनाएको छ ।