

जनकपुरधाम ।
मधेश प्रदेशका प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सरोज सिंह कुशवाहालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उनलाई काठमाडौंको अनामनगरबाट आयोगले पक्राउ गरेको हो ।
कुशवाहा महोत्तरी क्षेत्र नं. ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी मधेश प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालि सकेका छन् ।
जेठ १२मा आयोगले कुशवाहाको घरमा छापा मारेको थियो । सो क्रममा उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई समेत पक्राउ गरिएको थियो । छापाबाट आयोगले विभिन्न सरकारी योजनासम्बन्धी कागजातहरू बरामद गरेको थियो भने मोबाइल उपकरणहरू नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको छ ।
प्राप्त जानकारीअनुसार, कुशवाहामाथि मधेश प्रदेश सरकारअन्तर्गत सञ्चालित विकास योजनाहरू खरिदबिक्री गरेर आर्थिक लाभ लिएको आरोपमा अनुसन्धान भइरहेको छ ।
