

एजेन्सी ।
भारतको गुजरातस्थित अहमदाबादमा रहेको सरदार पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लण्डनतर्फ उडेको एउटा अन्तर्राष्ट्रिय यात्रुबाहक विमान उडान भरेको केही समयमै दुर्घटनामा परेको छ । विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि सवार रहेको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ । पूर्व मुख्यमन्त्री रूपाणी सुरक्षित छन् वा छैनन् भन्ने विषयमा हालसम्म आधिकारिक पुष्टि भएको छैन ।
विमानमा दुई जना चालक, १२ जना परिचालकसहित झण्डै २४२ जना यात्रु सवार थिए । उडेको केही क्षणमै विमानमा प्राविधिक समस्या देखिएपछि पाइलटले नियन्त्रण कक्षमा आपतकालीन सन्देश पठाएको र त्यसपछिको सम्पर्क टुटेको भारतीय नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमान मेघानी नगर क्षेत्रमा खसेको बताइएको छ । घटनास्थलमा बाक्लो धुवाँ देखिएको छ र ठूलो आवाजसहित विमान जमिनमा खसेको स्थानीय बासिन्दाले बताएका छन् । आगलागी नियन्त्रणका लागि सातभन्दा बढी दमकल परिचालन गरिएको छ भने उद्धार कार्य तीव्र पारिएको छ ।
विमानमा रहेका यात्रुहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ । तर, केही यात्रु घाइते भएको र अस्पतालमा भर्ना गरिएको प्रारम्भिक जानकारी आएको छ ।
संघीय उड्डयन निकाय र सम्बन्धित सुरक्षा निकायले घटनाको छानबिन सुरु गरेका छन् । यो दुर्घटनाले भारतको हवाइ सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको भन्दै विभिन्न पक्षबाट ध्यानाकर्षण गराइएको छ ।
