Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विश्वभर १३ करोड ८० लाख बालबालिका बाल श्रममा संलग्न





एजेन्सी ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले सन् २०२४ मा विश्वभर झन्डै १३ करोड ८० लाख बालबालिका बाल श्रममा संलग्न रहेको प्रतिवेदन बुधबार सार्वजनिक गरेका छन् । जसमध्ये ५ करोड ४० लाखभन्दा बढी बालबालिका स्वास्थ्य, सुरक्षा वा मानसिक विकासमा गम्भीर असर पार्ने जोखिमयुक्त काममा संलग्न रहेका छन् ।
सन् २०२० यता २ करोड २० लाख बालबालिका बाल श्रमबाट मुक्त भए पनि सन् २०२५ सम्म बाल श्रमको पूर्ण उन्मूलन गर्ने विश्व लक्ष्य भने अझै अधुरै रहेको प्रतिवेदनको निष्कर्ष छ । ‘बाल श्रम ः विश्वव्यापी अनुमान २०२४, प्रवृत्तिहरू र भावी बाटो’ नामक प्रतिवेदन विश्व बाल श्रम विरोधी दिवस (जुन १२) को पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो । प्रतिवेदनले केही प्रगति देखिए पनि अझै बालबालिकाको अधिकार गुमिरहेको यथार्थ उजागर गरेको छ ।
आईएलओका महानिर्देशक गिल्बर्ट एफ. हाउंग्बोका अनुसार बालबालिकाको स्थान विद्यालय हो, श्रम होइन । उनले अभिभावकलाई मर्यादित रोजगार उपलब्ध नगराई बाल श्रम अन्त्य गर्न नसकिने स्पष्ट पारेका छन् ।
बाल श्रममा संलग्न अधिकांश बालबालिका कृषि क्षेत्रमा कार्यरत छन् । प्रतिवेदनअनुसार कुल बाल श्रमिकमध्ये ६१ प्रतिशत कृषि क्षेत्रमा, २७ प्रतिशत सेवा क्षेत्रमा र १३ प्रतिशत उद्योग क्षेत्रमा छन् । एसिया र प्रशान्त क्षेत्रमा सबैभन्दा ठूलो सुधार देखिएको छ । सन् २०२० मा ४ करोड ९० लाख बाल श्रमिक रहेका यस क्षेत्रमा हाल यो संख्या घटेर २ करोड ८० लाखमा झरेको छ । ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा पनि ११ प्रतिशतले बाल श्रमिकको संख्या घटेको छ । तर, उप–सहारा अफ्रिका अझै सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा चिनिएको छ, जहाँ झन्डै ८ करोड ७० लाख बालबालिका बाल श्रममा संलग्न छन्। जनसंख्या वृद्धिका कारण त्यहाँ कुल संख्या स्थिर रहेको देखिएको छ ।
युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रस्सेलले बालबालिकाले खानी, कारखाना वा खेतबारीमा होइन, विद्यालय र खेलमैदानमा समय बिताउनुपर्ने बताएकी छन् । सामाजिक सुरक्षा र शिक्षामा पर्याप्त लगानी नहुँदा बालबालिका श्रममा धकेलिने जोखिम बढेको उनको भनाइ छ ।
प्रतिवेदनले संभावित विश्वव्यापी आर्थिक संकटसँगै शिक्षा, सामाजिक सुरक्षा र जीविकोपार्जनमा हुने लगानी कटौतीका कारण बाल श्रम पुनः वृद्धि हुने चेतावनी दिएको छ । गरिबी, गुणस्तरीय शिक्षाको अभाव र सामाजिक सुरक्षाको कमी नै बाल श्रमका मुख्य कारण हुन् ।
बाल श्रमले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा नकारात्मक असर पार्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । बालकहरू श्रममा संलग्न हुने संख्यामा अगाडि छन्, तर साप्ताहिक २१ घण्टाभन्दा बढीको घरेलु काम समावेश गर्दा बालिकाहरू बढी जोखिममा पर्ने देखिएको छ ।
आईएलओ र युनिसेफले सामाजिक सुरक्षा प्रणालीमा लगानी गरी बाल भत्ताको व्यवस्था गर्न, बाल संरक्षण प्रणाली सुदृढ गर्न, ग्रामीण तथा संकटग्रस्त क्षेत्रमा गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्न, मर्यादित रोजगारी प्रवद्र्धन गर्न र आपूर्ति शृंखलाबाट बाल श्रम हटाउन कानुनको कडाइका साथ कार्यान्वयन गर्न सरकारहरूलाई आग्रह गरेका छन् ।