

जनकपुरधाम ।
नेपाल विद्युत प्राधिकरण जनकपुरधाम वितरण केन्द्रमा सेवा लिन पुगेका सेवाग्राही गर्मी र व्यवस्थापकीय लापरबाहीका कारण हैरान भएका छन् ।
बिजुली बिल तिर्नका लागि बिहानैदेखि लाइनमा उभिने सेवाग्राहीहरू काउण्टर ढिलो खुल्ने र अत्यधिक भीडका कारण झनै पीडित भएका छन् । बिहान १० बजे नै काउण्टर खुल्नुपर्ने हो तै पनि प्रायः साढे १० बजेपछि मात्र सेवा सुरु हुने गरेको बिजुली बिल बुझाउन पुगेका विभिन्न सामाजिक संघ संस्थामा आवद्ध युवा कुलदीप साहले गुनासो गरे ।
कार्यालयमा १० वटा काउण्टरको संरचना रहे पनि हाल ३ वटा मात्र सञ्चालनमा छन् । यसले सेवाग्राहीको चाप बढेको छ र गर्मीमा वृद्ध, महिला लगायतका सेवाग्राहीहरू बढी मारमा परेका छन् ।
केन्द्रका अधिकारीहरूका अनुसार कर्मचारी अभावका कारण सीमित काउण्टरमै सेवा सञ्चालन गर्नुपरेको हो । “हामीसँग सीमित जनशक्ति छ, त्यसैले दुई काउण्टरबाट सेवा दिइरहेका छौं,” एक कर्मचारीले जानकारी दिए ।
केन्द्रले सेवालाई सहज बनाउन कुर्सी र पंखा जडान गरिएको जनाएको छ । यद्यपि व्यावहारिक रूपमा ती सुविधा पर्याप्त नभएको सेवाग्राहीहरूको गुनासो छ ।
यसअघि सहज सेवा प्रवाहका लागि सञ्चालनमा ल्याइएको टोकन प्रणालीसमेत अहिले बन्द गरिएको छ । टोकन प्रणाली नचल्दा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता छ । ‘बिल बुझाउने सानो कामका लागि पनि २–३ घण्टा लाइन बस्नुपर्छ, गर्मीमा यो अवस्था हो,’ सेवाग्राहीको रुपमा पुगेका साहले बताए । आफू एक घण्टादेखि लाइनमा बसेपनि अहिलेसम्म आफ्नो पालो नआएको उनले गुनासो गरे ।

