

जनकपुरधाम ।
मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा जम्मा १५.२५ प्रतिशत मात्र पुँजीगत बजेट खर्च गर्न सकेको छ । कुल २८ अर्ब २० करोड रुपैयाँ पुँजीगत बजेटमध्ये अहिले सम्म प्रदेश सरकारले मात्र ४ अर्ब ३० करोड रुपैयाँ खर्च गर्न सकेको तथ्यांकले देखाएको छ ।
यस्तै, चालु खर्चतर्फ पनि प्रगति सन्तोषजनक छैन । १५ अर्ब ७० करोडको चालु बजेटमध्ये ५ अर्ब ७० करोड रुपैयाँ, अर्थात् ३३.१२ प्रतिशत मात्र खर्च भएको छ । विकास निर्माणमा बजेट खर्च नगर्दा पूर्वाधार विकास, सेवा प्रवाह र रोजगार सृजनामा असर परेको विश्लेषकहरू बताउँछन् ।
प्रदेश सरकारको योजना तर्जुमा, ठेक्का प्रक्रिया र कार्यान्वयन क्षमतामा कमजोरी रहेको भन्दै विज्ञहरूले समयमै सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
मधेससँगै कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा पनि बजेट कार्यान्वयन अवस्था कमजोर देखिएको छ, जसले संघीय संरचनामा कार्यक्षमता अभावको संकेत गरेको छ । विकास योजनाहरू कागजमा सीमित नहोस् भन्ने सुनिश्चित गर्न नीति निर्माताहरूले गम्भीर ध्यान दिनुपर्ने आवश्यकतामाथि अर्थविदहरुले सुझाएका छन् ।
