

काठमाडौं ।
भिजिट भिसा प्रकरणकारण संघीय संसद्मा देखिएको गतिरोधको गाँठो फुकाउने प्रयास बुधबार पनि फेल भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको पाँच बुँदे मागमा नेपाली कांग्रेस तयार नहुँदा जेठ पहिलो सातादेखि देखिएको गतिरोध अझै हट्न नसकेको हो ।
भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र त्यसबारे छानबिन समिति बनाउनु पर्नेसहित रास्वपाको ५ बुँदे मागमा प्रतिपक्षी दलहरूबीच बुधबार पनि छलफल भयो ।
त्यसपछि सत्तारुढ र प्रतिपक्षी दल छलफलका लागि बसेका थए । त्यहाँ पनि सहमति जुट्न सकेन । उता सभामुख देवराज घिमिरेको पहलमा बसेको सत्तारुढ र प्रतिपक्षी दलका प्रमुख सचेतकको बैठकले पनि निचोड निकाल्न सकेन ।
सभामुखसँग भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितले रास्वपाका ५ बुँदे प्रस्तावमा सहमति जनाएका थिए । माओवादीले गृहमन्त्री लेखकको राजीनामामा लचकता देखाए पनि छानबिनको अडानमा आफूलाई यथावत राखेको छ । उता नेपाली कांग्रेस छानबिन समिति बनाउने पक्षमा तयार भएको छैन ।
यसैबीच विपक्षी दलहरूको बैठकमा ५ बुँदे प्रस्तावमा साझा धारणा बनाइएको थियो । त्यही साझा धारणा प्रमुख सचेतकहरूले सभामुखकहाँ राखे ।
प्रमुख प्रतिपक्षीको बैठकमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, हितराज पाण्डेसहित रास्वपाका सन्तोष परियार, नेकपा एसका राजेन्द्र पाण्डे र आम जनता पार्टीका प्रभु साहलगायत सहभागी थिए ।
उक्त छलफलपछि साझा धारणासहित सत्तारूढ दलसँग ५ बुँदेको अडान राखिएको थियो । सभामुख घिमिरेकहाँ पनि प्रतिपक्षीले ५ बुँदेमा आफूहरूलाई उभ्याएका छन् । उता कांग्रेस छानबिनका लागि तयार नभए पनि भ्रष्टाचारविरुद्ध प्रतिबद्धताका लागि राजी भएको थियो । प्रतिपक्षीले लेखकमाथि छानबिन हुनै पर्ने साझा अडान राखेपछि दिउँसो सवा ३ लाई राखिएको बैठक पनि अनिश्चित भएको छ ।
