

काठमाडौं ।
चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाख महिनासम्मको १० महिनामा सातवटै प्रदेश सरकारले कुल १ खर्ब १७ अर्ब रुपैयाँ खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको समग्र आर्थिक तथा वित्तीय अवस्थाको विवरण अनुसार सो अवधिमा प्रदेश सरकारहरूले १ खर्ब ६१ अर्ब ७७ करोड रुपैयाँ बराबरको स्रोत परिचालन गरेका थिए । यस स्रोत परिचालनमा नेपाल सरकारले प्रदेशलाई दिएको अनुदान र विभाज्य कोषबाट प्राप्त राजस्व गरी १ खर्ब २३ अर्ब १५ करोड रुपैयाँ रहेको छ । बाँकी ३८ अर्ब ६२ करोड रुपैयाँ प्रदेश सरकारहरूले आफ्नै तर्फबाट उठाएको राजस्व र अन्य स्रोतबाट प्राप्त भएको हो ।
