

काठमाडौँ ।
पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको दर्ता प्रक्रियामै कानुनी त्रुटि रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी ऐनविपरीत विदेशी संस्थापकबाट दर्ता गरिएको भन्दै उद्योग तथा वाणिज्य मन्त्रालयमा पत्राचार गर्दै कार्यप्रणाली सुधार्न निर्देशन दिएको छ ।
२०६४ साल असोज २० गते मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा काठमाडौँको कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको सो कम्पनी (दर्ता नं ८४।०६४।६५) मा संरक्षक स्वामी रामदेव, अध्यक्ष आचार्य बालकृष्ण, सदस्यहरू राजेन्द्र दास र राजेन्द्र सिंहसहित चारजना भारतीय नागरिक छन् । शालिग्राम सिंह एक मात्र नेपाली सञ्चालक हुन् ।
कम्पनी ऐन, २०६३ को दफा १६६ अनुसार मुनाफा वितरण नगर्ने कम्पनी दर्ता गर्न सकिने व्यवस्था भए तापनि, सोही ऐनको दफा ४ अनुसार विदेशी व्यक्ति संस्थापक भएमा नेपालमा लगानी गर्न विशेष अनुमति आवश्यक हुन्छ । तर, पतञ्जलिले दर्ता हुँदा यस्तो अनुमति लिएको प्रमाण फेला परेको छैन ।
अख्तियारका अनुसार, दर्ता प्रक्रियामा संलग्न कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीहरू – ज्ञानदर्शन उदास, दानध्वज बस्नेत, कुसुमाकर शर्मा ढकाल, होमप्रसाद लुइटेल र तिलकराम रिजाल – को प्रत्यक्ष संलग्नता देखिएको छ । आयोगले उनीहरूलाई सजायको माग भने नगरी मन्त्रालयलाई कार्यप्रणाली सुधार गर्न सुझाव दिएको छ ।
नेपाल राष्ट्र बैंक, समाज कल्याण परिषद् लगायत सम्बन्धित निकायबाट कुनै अनुमति नलिई कम्पनीले ठूलो मात्रामा आर्थिक कारोबार गरेको पनि अख्तियारको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यसबारे थप छानबिनका लागि छुट्टै अनुसन्धान अधिकृत तोकिएको छ ।
यसबीच, कम्पनीका नेपाली सञ्चालक शालिग्राम सिंहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । काभ्रेपलाञ्चोकमा हदबन्दी छुटको जग्गा गैरकानुनी रूपमा खरिद गरी मन्त्रिपरिषद्कै मिलेमतोमा बेचेको अभियोगमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गर्दा शालिग्राम सिंहसमेत अभियुक्त सूचीमा परेका छन् ।
