

काठमाडौं ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका पाँचलाख बढी विद्यार्थी यतिखेर नतिजाको पर्खाइमा छन् । गत वर्षहरुमा नतिजा निकाल्ने प्रक्रियामा व्यस्त हुने परीक्षा नियन्त्रण कार्यालय कक्षा १० पनि यतिखेर पर्खाइमा नै छ ।
कपीजाँच र संकलनका निम्ति तोकिएका पचास केन्द्रमध्येबाट फाटफुटबाहेक तथ्यांक आएको छैन । शिक्षक आन्दोलनका कारण कपी जाँच प्रक्रिया धकेलिएपछि एसईईको नतिजा गतवर्षहरुकै समयमा आउला त ?
शिक्षा ऐन जारीको माग राख्दै २०८१ चैत २० देखि आन्दोलनमा होमिएका शिक्षक २९ दिनसम्म काठमाडौंका सडकमै रहे । शैक्षिक सत्र सकिएर खाली भएको यही एक महिना गतवर्षमा एसईईको कपीजाँचका निम्ति छुट्याउने गरिएको थियो ।
तर आन्दोलनकै कारण योवर्ष कपीजाँच गर्नमा ३२ दिन ढिलाई भएको रािष्ट्रय परीक्षा बोर्डको भनाइ छ । जसका कारण नतिजा एक महिनाभन्दा बढी धकेलिने सम्भावना छ ।
“कपीजाँचमा ३४ दिन ढिलो भएको छ, हामीकहाँ आएपछि प्रोसेसिङमा ३५ दिन लाग्छ केही केन्द्रहरुबाट नतिजाको तथ्यांक आउन थालेको छ, पचास वटाबाट आइपुग्ने पर्खाइमै छौँ हामी,” परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक गणेश प्रसाद भट्टराईले भने ।
कार्यालयमा सबै केन्द्रबाट नतिजा प्राप्त भएको ३६औँ दिनमा नतिजा सार्वजनिक गर्न सकिने उनले दाबी गरे । “कति छिटो वा ढिलो कपीजाँच र संकलन गरेर हामीलाई प्राप्त हुन्छ,त्यसैमा नतिजा कहिले भन्ने निर्भर गर्छ,” भट्टराईले थपे ।
कपीजाँच एउटै प्रदेशमा नभई अन्तरप्रदेश हुने भएकाले (एउटा प्रदेशमा भएको परीक्षाको कपी अर्कै प्रदेशमा जाँच गर्ने व्यवस्था छ) बर्खायाम र बाटोको अवस्थाले पनि नतिजा संकलनमा प्रभाव पार्ने देखिन्छ ।
यसअघिका वर्षहरुमा शैक्षिक सत्र सकिएको एक महिनासम्म शिक्षकले दैनिक सात घण्टाका दरले कपीजाँच गर्ने गरेको बोर्डको तथ्यांक छ । त्यसका निम्ति करिब ३० हजार शिक्षक परिचालित हुने गरेका थिए । र योवर्ष शैक्षिक सत्र सुरु भएपछि मात्रै कपी जाँच थलिएको छ । यो अवधिमा पढाउने र कपीजाँच गर्ने दोहोरो जिम्मेवारी शिक्षकको काँधमा छ ।
शिक्षक आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासंघ भने एसईईको नतिजामा ढिलाई नहुनेगरी काम गरिरहेको दाबी गर्छ । अघिल्ला वर्षहरुकै समयमा नतिजा निकाल्नेगरी कपीजाँच गर्न शिक्षकहरुलाई निर्देशन दिइएको महासंघका केन्द्रीय अध्यक्ष लक्ष्मीकिशोर सुवेदी बताउँछन् ।
“कपीजाँच सुरु गर्नमा ढिलाइ भए पनि अहिले शिक्षकहरु द्रूत गतिमा कपीजाँच गरिरहेका छन्, हामीले सेड्युल नबिग्रिनेगरी काम गर्न भनेका छौँ” सुबेदीले भने । आन्दोलनका कारण नतिजा धकेलिने भएपछि शिक्षकहरु विद्यालय समयभन्दा बाहेक पनि समय दिएर कपीजाँचमा खटिइरहेको उनको दाबी छ ।
गतवर्ष २०८० चैत पहिलो सातादेखि सञ्चालन भएको एसईईको नतिजा असार १४ गते प्रकाशन भएको थियो ।
वर्ष २०८१ को एसईईमा नियमितर्फ चार लाख २१ हजार ५८५,ग्रेडवद्धितर्फ ७५ हजार ५३९ र प्राविधिक धारका १६ हजार गरी कुल पाँचलाख १५ हजार ७१ विद्यार्थी सहभागी भएका थिए । चैत्र ७ देखि १९ गतेसम्म सञ्चालन भएको परीक्षाको मूल्यांकर्न लेटर ग्रेडिङ पद्धती’ अनुसार हुनेछ ।
