

काठमाडौँ ।
नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा दर्ता भएपछि पार्टीको संगठनात्मक र राजनीतिक गतिविधिमा एकाएक ब्रेक लागेको छ । नेपालले १६ वर्षअघि पतञ्जली योगपिठलाई दिइएको जग्गासम्बन्धी निर्णयमार्फत भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको हो । त्यसपछि संसद् सदस्यबाट उनी निलम्बित भइसकेका छन् ।
अब उनले पार्टी अध्यक्ष र संसदीय दलको नेताको पद पनि छाड्नुपर्ने बाध्यता देखिएको छ । सार्वजनिक पदमा रहन मिल्दैन । यद्यपि, उनले संगठनसँगको सम्बन्ध तोड्नुपर्ने छैन । तर राजनीतिक हैसियत भने गुम्नेछ ।
पार्टीभित्र अहिले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्ष तथा संसदीय दलको नेता बनाउने तयारी भएको छ । ६९ वर्षीय पाण्डे लामो समयदेखि नेपालको राजनीतिक सहयात्री हुन् ।
पार्टी स्रोतका अनुसार, विदेश भ्रमण जाँदा नेपालले सधैँ पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिँदै आएका थिए । अहिले पनि उनको नाम पार्टीभित्र व्यापक रूपमा स्वीकार्य देखिन्छ ।
एक पदाधिकारीले भने, ‘कार्यवाहक अध्यक्ष राजेन्द्र कमरेडले नै पाउनुहुन्छ । नेपाल कमरेडले पछिल्ला दिनमा विश्वास गर्नुभएको छ ।’
पार्टीको सचिवालय बैठक केही दिनमै बस्ने तय भएको छ । त्यही बैठकबाट कार्यवाहक अध्यक्ष र दलको नेताको टुंगो लाग्ने बताइएको छ ।
उपाध्यक्ष जगन्नाथ खतिवडा भन्छन्, “माधव कमरेडकै मुखबाट प्रस्ताव आउँछ भनेर हामी सचिवालय बैठकको प्रतीक्षामा छौँ । अहिलेको मनोबलको स्थिति हेर्दा कुनै पनि नेताले अग्रसरता लिएको छैन ।’
