

सुजीतकुमार झा
जनकपुरधाम ।
७ करोडको लागतमा जनकपुरधाममा निर्माण भएको मैथिली विकास कोषको उदघाटन समारोहमा कांग्रेस नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिको आज खोजी भइरहेको थियो ।
कांग्रसका केन्द्रिय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथित्वमा सो कार्यक्रम भएको थियो । उहाँले नै सो भवनको उदघाटन गर्नुभएको थियो । कोषको कार्यक्रममा निधि अनुपस्थिति भएपछि कार्यक्रम स्थलमा निकै चर्चाको विषय बनेको थियो । निधि किन आउनु भएन सबैले एकअर्कालाई सोध्दै थिए । एकसाता पूर्व कोषका अध्यक्ष जीवनाथ चौधरी निमन्त्रणपत्र लिएर निधि निवास पुगेको सामाजिक सञ्जालमा फोटो नै आएको थियो । यसका बाबजूद निधि किन आउनु भएन ? सबैले एकअर्कालाई सोध्दै थिए । कार्यक्रमस्थलमा आयोजकले पनि निधि किन नआएको स्पष्ट पारेको थिएन यसकारण पनि कतिलाई अर्थ लगाउन मुस्किल भइरहेको थियो ।
देउवाको धनुषा जिल्लामा भएको विभिन्न कार्यक्रममा सहभागि हुन निधि सँगै विमानमा आएका थिए । देउवा जान लाग्दा पनि निधि सँगै काठमाडौ जानु भयो फेरी किन कोषमा जानु भएन ! प्रश्न उठनु स्वभाविक पनि छ । आजै कोषको कार्यक्रम बाहेक देउवा पुगेको सबै कार्यक्रममा निधि देखिएका थिए ।
कोषका अध्यक्ष चौधरीले प्रोटोकोलका कारण उहाँले आउन असमर्थता देखाउनु भएको बताउनु भएको छ । चौधरी आमन्त्रण गर्न जाँदा मुख्यमन्त्री भन्दा पहिला म बोल्छु प्रस्ताव राखेपछि कोषका पदाधिकारीहरुलाई समस्या भएको थियो ।
प्रोटोकोलमा पूर्व उपप्रधानमन्त्री भन्दा प्रदेशको मुख्यमन्त्री अगाडी रहेकाले फेरी प्रदेश सरकारको बजेटले कोषको भवन निर्माण भएको कारण हामीले पूर्वप्रधानमन्त्री देउवापछि मुख्यमन्त्री नै बोल्नुहुन्छ भनेपछि निधि आउन अस्वीकार गरेको कोषका अध्यक्ष चौधरीले मोडेल खबरलाई बताएका छन् ।
निधि प्रोटोकलको विषयलाई लिएर अरु नेता भन्दा जहिलेपनि गम्भीर रहनुहुन्छ । एकवर्ष अघि जनकपुरधामको तिरहुतिया गाछीमा भएको कांग्रेस पार्टीको कार्यक्रममा निधिलाई पछाडी आसनग्रहणमा बोलाएपछि उहाँ दर्शक दीर्घामा गएर बस्नु भएको थियो । निधि दर्शक दीर्घामा बसेपछि देशभरीको मिडियामा त्यो फोटो आएको थियो । त्यो कार्यक्रमको प्रमुख अतिथि पनि देउवा नै थिए ।
मैथिली भाषा, साहित्य कला संस्कृतिको विकासमा निधिको योगदान अरु नेता भन्दा बढी नै रहेको छ । यो प्रदेशलाई मिथिला नामाकरण गर्नुपर्छ यसका लागि निधिकै नेतृत्वमा कांग्रेस अभियान चलाएका थिए । हुनत रामसरोज यादव, महेन्द्र यादव सहितका नेताहरु प्नि मिथिला नामाकरण हुनुपर्छ यसका लागि ठाउँ–ठाउँमा लबिगं गरेका थिए ।

