

जनकपुरधाम ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयता कार्यान्वयनमा भइरहेको ढिलाईप्रति चिन्ता व्यक्त गर्दै प्रहरी प्रशासन र कर्मचारी समायोजन छिट्टै गर्न संघ सरकारसँग आग्रह गरेका छन् ।
मैथिली विकास कोषको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन, ‘संघीयताको स्पिरीटअनुसार हामी अघि बढ्न सकेका छैनौँ, किनभने प्रहरी र कर्मचारीहरू अझै पनि संघको नियन्त्रणमा छन् ।’ मुख्यमन्त्री सिंहले कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उक्त माग दोहो¥याएका हुन् । उनले संघीयता सुदृढ पार्न प्रदेश सरकारलाई आवश्यक अधिकार र स्रोत सुनिश्चित गर्नुपर्ने बताए ।
एक अर्को प्रसंगमा मुख्यमन्त्री सिंहले मधेस र राष्ट्रको समृद्धिका लागि गुरुयोजनासहित पर्यटन विकासमा ध्यान दिनु आवश्यक रहेको बताए । उनले भारतको आयोध्या पुग्ने पर्यटकहरूमध्ये केवल २० प्रतिशतलाई पनि जनकपुरधामसम्म ल्याउन सके, यसले मधेस मात्र नभई देशकै पर्यटन उद्योगमा ठूलो फड्को मार्न सक्ने विश्वास व्यक्त गरे । उनले थपे, ‘जनकपुरधामबाट ती पर्यटकलाई पशुपतिनाथसम्म पु¥याउने धार्मिक पर्यटकीय मार्ग विकास गर्न सके, नेपाल धार्मिक पर्यटनको मुख्य केन्द्र बन्न सक्छ ।’
