

जनकपुरधाम ।
पूर्वप्रधानमन्त्री माधव कुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाबारेको प्रश्नमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कुनै प्रतिक्रिया जनाएनन् ।
जनकपुरधामस्थित कांग्रेस मधेश प्रदेश कार्यालयमा आयोजित पत्रकार भेटघाटमा सोधिएको प्रश्नमा देउवा मौन बसेका थिए । बरु उल्टै संचारकर्मीहरुको सो प्रश्नमा उनी बिच्किएका थिए । यद्यपि, अन्य राजनीतिक विषयमा देउवाले संक्षिप्त धारणा राखेका थिए । मधेश प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने कुरामा विश्वास व्यक्त गर्दै उनले भने, ‘आलोपालोको कुरा त हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ अनि बन्छ ।’
देउवाले जनकपुरमा कांग्रेस सांसद, नेताहरु र कार्यकर्तासँग छुट्टाछुट्टै भेट गरेका थिए । सो अवसरमा कांग्रेस नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौला, महेन्द्र यादव र मधेश प्रदेश सभापति कृष्ण यादवको उपस्थिति थियो ।
