

काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ ।
नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो ।
यता एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दर्ता भएको भ्रष्टचार मुद्दा पूर्वाग्रहबाट प्रेरित भएको जनाएको छ ।
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको आरोप लगाए ।
‘यो पूर्वाग्रहपूर्ण छ । यस बारेमा पहिले नै अख्तियार मुद्दा चलाउन नपर्ने चिठ्ठी दिइसकेको छ । अहिले मुद्दा दायर गर्नु किन प¥यो ?,’ पाण्डेले भने, ‘अख्तियारले तामेलीमा लगेको केस हो । ओलीजीको निर्देशनमा भएको कुरा हो यो ।’ पार्टीको बैठक बसेर थप धारणा सार्वजनिक गरिने पाण्डेले बताए ।
