Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रवीन्द्र मिश्र र धवल शमशेर सम्पर्कविहीन हुँदा जिम्मा लिने वकिललाई ५० हजार जरिवाना





काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा सम्पर्कविहीन भएपछि उनीहरूको जिम्मा लिएका वकिललाई ५०–५० हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार, अदालतको आदेशमा वकिलको हाजिरी जमानीमा रिहा भएका मिश्र र राणा तोकिएको म्यादसम्म उपस्थित नहुँदा जरिवाना गरिएको हो । ‘हाजिरी जमानीमा लिएर जिम्मा लिनेले बुझाउन नसकेपछि, दुवै वकिललाई जनही ५० हजार रुपैयाँ जरिवाना तिराएका छौं,’ एसपी बोहराले बताए ।
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ अनुसार अनुसन्धान अधिकृतले हाजिरी जमानीमा छुटाइएका व्यक्तिहरू समयमै उपस्थित नगराएमा जिम्मा लिने व्यक्तिलाई जरिवाना गर्न सक्ने व्यवस्था छ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि मिश्र र राणालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि सर्वोच्च अदालतको आदेशमा मिश्रलाई २ जेठमा वकिलको जिम्मामा रिहा गरिएको थियो । राणा भने ७ वैशाखमा उपचारका लागि भन्दै छाडिएका थिए । तर, उनीहरू दुवैजना अदालतमा उपस्थित नभई सम्पर्कविहीन भएपछि वकिलहरू जरिवानाको भागेदार बनेका हुन् ।
तीनकुनेको सो प्रदर्शनमा संलग्न भएको आरोपमा मिश्र र राणासहित ६५ जनाविरुद्ध राजद्रोह, आपराधिक उपद्रव, र संगठित अपराधको मुद्दा दायर गरिएको छ । सोही घटनामा सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो भने प्रदर्शनकारीहरूले आगजनी र तोडफोडसमेत गरेका थिए ।
हाल सो मुद्दाको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ ।