

जनकपुरधाम ।
महोत्तरीको सव डिभिजन वन कार्यालय, लक्ष्मिनियामा कार्यरत १७ वर्षीय करारका कर्मचारी रुपेश महतोको सर्पको टोकाइबाट मृत्यु भएको छ । राति सुतिरहेको अवस्थामा पेट र तिघ्रामा तीनपटक सर्पले टोकेको थियो । उपचारका लागि तत्काल बर्दिबासस्थित जनसेवा अस्पताल पु¥याइएको थियो, तर बिहान सवा ५ बजे चिकित्सकले उनलाई मृत घोषित गरे ।
महतो एक वर्षदेखि भान्सेको रूपमा कार्यरत थिए । उनका आमा सुदिना देवी पनि सोही कार्यालयमा करार सेवामा कार्यरत छन् । परिवारका अनुसार रुपेश बस्ने कोठा पूर्ण रूपमा असुरक्षित थियो । झ्याल–ढोका खुल्ला, सरसफाइको व्यवस्था कमजोर र झाडीबीच रहेको कोठा आफैँमा जोखिमपूर्ण थियो ।
किशोरलाई रात्रिकालीन ड्युटीमा लगाइएको, जोखिमपूर्ण वातावरणमा काम गराइएको र आकस्मिक स्वास्थ्य संकटका लागि कुनै पूर्वतयारी नभएको भन्दै स्थानीय समुदाय आक्रोशित बनेको छ । मानव अधिकारकर्मीहरूले समेत राज्यको गम्भीर लापरबाही भएको भन्दै आलोचना गरेका छन् ।
वन कार्यालय घटनापछि हालसम्म मौन छ । तर मृतक परिवार, स्थानीय नागरिक र सरोकारवालाहरूले तत्काल छानबिन, दोषीमाथि कारबाही र करार सेवामा कार्यरत कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् ।
