

जनकपुरधाम ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ट्राफिक प्रहरीलाई केवल चिट काट्ने होइन, जनचेतना अभिवृद्धि गर्ने कार्यमा ध्यान दिन आग्रह गरेका छन् । उनले ट्राफिक जाँच र सुरक्षा कार्यलाई प्रभावकारी बनाउनमा जोड दिनुपर्ने मुख्यमन्त्री सिंहले बताए । उनले भने, ‘झाडीमा लुकेर चिट काट्ने होइन, सडक सुरक्षाका लागि पहल गर्न आवश्यक छ ।’
मधेसको गृह, सञ्चार तथा कानून मन्त्रालय र जिल्ला ट्राफिक कार्यालय धनुषाको संयुक्त आयोजनामा आयोजित ‘ट्राफिक जनचेतनामूलक सप्ताह’ को उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले ट्राफिक प्रहरीको मुख्य कर्तव्य जनताको सुरक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री सिंहले पछिल्लो समयमा ट्राफिक चेकिङको नाममा दुर्घटना बढेको उल्लेख गर्दै भने, ‘झाडी वा अँध्यारो स्थानमा लुकेर ट्राफिक कारबाही गर्नुका सट्टा खुला र सुरक्षित स्थानमा जनचेतनासहित चेकजाँच गर्नुपर्छ । ट्राफिक प्रहरी स्वयं पनि सुरक्षित हुन जरुरी छ ।’
उनले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई कारबाही मात्रै गर्नुभन्दा पनि उनीहरूको स्वीकृति लिएर भिडियो बनाउने र सामाजिक सञ्जालमार्फत जनचेतना फैलाउने उपाय अवलम्बन गर्न आग्रह गरे ।
सोही कार्यक्रममा मधेस प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले अनुशासनको पालना सबै क्षेत्रमा आवश्यक रहेको बताए । ‘सवारीसाधन चलाउँदा यदि सबैले नियम र अनुशासन पालना गरे भने दुर्घटना घटाउन सकिन्छ,’ मन्त्री लेखीले भने ।
उनले पछिल्लो समय देशभरि बढ्दो हिंसा, हत्या, चोरी, लुटपाट लगायतका अपराधजन्य घटनाले युवापुस्तामा नकारात्मक प्रभाव पारिरहेको भन्दै यस्ता जनचेतनामूलक कार्यक्रमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
यसअघि ट्राफिक सप्ताहको अवसरमा गृह मन्त्री लेखी तथा जिल्ला ट्राफिक कार्यालय धनुषाका प्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा प्रभात फेरी कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।
