

जनकपुरधाम ।
मधेश प्रदेशसभाको पाँचौं अधिवेशनको पहिलो बैठक प्रमुख प्रतिपक्षी दलहरूको विरोधका कारण बुधबार स्थगित गरिएको छ । चैत २७ गते भएको निर्णयअनुसार आर्थिक अनुशासनसम्बन्धी छानबिन समिति गठन नहुँदा विपक्षीहरूले बैठक अवरुद्ध गरेका हुन् ।
बैठक सुरु हुनासाथ सभामुख रामचन्द्र मण्डलले कार्यसूची अनुसार प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । तर, विपक्षी सांसदहरू उठेर तीव्र विरोध जनाए ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता रामअशिष यादवले चौथो अधिवेशन बैठकमा सबै दलको सहमतिमा छानबिन समिति गठन गर्ने निर्णय भएको स्मरण गराउँदै भने, ‘सभामुखकै अध्यक्षतामा समिति गठन गर्ने भनिएको एक महिनाभन्दा बढी भइसक्यो । प्रतिपक्षले आफ्नो तर्फबाट नाम दिइसकेको छ, तर सत्तापक्षले अहिलेसम्म नाम नदिएर सदनको निर्देशनको अवहेलना गर्दै आएको छ ।’ उनले छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने चेतावनीसमेत दिए ।
