

काठमाडौं ।
निजामती विधेयकमा सुधार र संशोधनको माग राख्दै नेपाली कांग्रेसनिकट कर्मचारी युनियनले सभापति शेरवहादुर देउवालाई घेरेको छ । विधेयकका केही प्रावधानमा असहमति जनाउँदै यु्नियनले आफ्नो सुझाव सभापति देउवालाई बुझाएको युनियनका सचिव झविन्द्र पोखरेलले बताए ।
नेपाल निजामती कर्मचारी युनियनको टोली निजामती विधेयकका सन्दर्भमा विभिन्न मागसहित आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेको उनले बताए ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा संघीय निजामती सेवा विधेयक पेश गर्ने कार्यसूची छ । यही मेसोमा युनियनले विधेयकमा सुधार गर्नुपर्ने विभिन्न मागबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको हो ।
युनियनका नेताहरुसँग सभापति देउवाले निजामती कर्मचारीले उठाएका सरोकारका विषयमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडालाई बोलाएर आफूले निर्देशन दिने बताएका थिए ।
तर विधेयक संसदको कार्यसूचीमा गइसकेकाले अब सत्तारुढ र विपक्षी दलहरुसँग छलफल गरेर ‘फूल हाउस’बाटै संबोधन गर्न सकिने उनको भनाइ छ ।
