

जनकपुरधाम ।
मधेस तथा उत्पीडित समुदायका मुद्दालाई केन्द्रमा राख्दै पाँच साना राजनीतिक दलहरूले ‘संघीय गणतान्त्रिक गठबन्धन’ घोषणा गरेका छन् । मधेस केन्द्रित ७ दलले संघिय लोकतान्त्रिक मोर्चा बनाएपछि ५ साना मधेस केन्द्रित दलहरुले मिलेर बिहीबार जनकपुरधाममा आयोजित एक विशेष समारोहका बीच गठबन्धनको औपचारिक घोषणा गरिएको हो ।
गठबन्धनमा नेपाल संघीय समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, इतिहासिक जनता पार्टी, बहुजन एकता पार्टी, र नेपाल जनजागृति पार्टी सहभागी भएका छन् ।
गठबन्धनका नेताहरूले देशमा पुनः एकल सत्ता र प्रतिगमनतर्फ उन्मुख प्रवृत्तिको विरोधमा सशक्त राजनीतिक विकल्प दिन गठबन्धन निर्माण गरिएको स्पष्ट पारे । उनीहरूका अनुसार यो गठबन्धन संघीयता, गणतन्त्र, समावेशिता र समानतामूलक समाज निर्माणको पक्षमा उभिएको छ ।
समारोहमा बोल्दै संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वगृहराज्यमन्त्री रिजवान अन्सारीले देशमा फेरि पनि ‘एकल शासक प्रणाली’ फर्काउने प्रयास भइरहेको आरोप लगाउँदै त्यसविरुद्ध सशक्त प्रतिवादको चेतावनी दिएका छन् । उनले मधेशका कथित नेताहरूमाथि कटाक्ष गर्दै उनीहरूले जनताको बलिदानीलाई सत्तासँग साटेको र मधेशी जनतालाई पटक–पटक धोका दिएको आरोप लगाए
त्यसैगरी, अन्य नेताहरूले पनि ठूला मधेशी दलहरूले जनताको मुद्दा विसर्जन गरेर केवल सत्ताका लागि सम्झौता गर्दै आएको आरोप लगाए उनीहरूले मधेश, दलित, महिला, आदिवासी जनजाति लगायत उत्पीडित समुदायलाई एकजुट भएर आफ्नो हक अधिकारका लागि संघर्षमा उत्रन आह्वान गरे ।
घोषणा समारोहमा संघीय समाजवादी पार्टीकी केन्द्रीय उपाध्यक्ष तथा सांसद् बिमला अन्सारी, सद्भावना पार्टीकी वरिष्ठ नेतृ तथा पूर्वमन्त्री सरिता गिरी, ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्री ठाकुर, बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दनकुमार रञ्जन, र जनजागृति पार्टीका अध्यक्ष धुपलालप्रसाद सहनी (निषाद) लगायतका नेताहरूले आ–आफ्ना धारणा राखेका थिए ।
