

जनकपुरधाम ।
जनकपुरधामको एक विद्यालयका कर्मचारीमाथि हातपात गरेको घटनामा संलग्नहरुको पत्ता लगाई कानूनी कारबाही गर्न निजी विद्यालयका संघ संगठनहरुले माग गरेको छ ।
निजी विद्यालयका संगठनहरु प्याब्सन, एनप्याब्सन तथा हिसानले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै जनकपुरधामको भानु चोकमा रहेको मिथिला मन्टेसरी विद्यालयका कर्मचारीमाथि हातपात गर्नेलाई खोजी गरी कारबाही गर्न माग गरिएको हो । जनकपुरधामलाई शैक्षिक हबको रुपमा विकास गर्ने चर्चा तथा तयारी चलिरहेको समयमा यस प्रकारको आक्रमणले यो लक्ष्यप्राप्तिको सपनामाथि तुषारापात हुने विज्ञप्तिमा भनिएको छ ।
२०८२ जेठ १३ गते मंगलबार अपरान्ह साढे ३ बजे जनकपुरधामको भानुचोकमा रहेको मिथिला मन्टेसरी स्कुलमा १५–२० जनाको संख्यामा रहेको अज्ञात समुहले त्यहाँ कार्यरत कर्मचारीमाथि भौतिक आक्रमण गर्नुका साथै बालबालिकाहरुलाई समेत आतंकित पारेको विज्ञप्तिमा भनिएको छ । यसका साथै निजी विद्यालयका संघ संगठनहरुले आफूहरुलाई सुरक्षाको प्रत्याभूति गराउन समेत प्रशासनसंग माग गरेको छ ।
