

एजेन्सी ।
फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोन र उनकी श्रीमती ब्रिजिट म्याक्रोनको एउटा भिडिओ सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भईरहेको छ । भिडियोमा ब्रिजिटले राष्ट्रपति म्याक्रोनको अनुहारमा हात राख्दै धकेलेको देखिन्छ । भिडियो हनोई, भियतनामको भ्रमणको क्रममा खिचिएको हो ।
भिडिओमा देखिएको उक्त हावभावप्रति केही दर्शकहरूले चासो देखाउँदै उनीहरूबीच तनाव भएको अड्कलबाजी गरे भने अरूले यसलाई सामान्य पारिवारिक ठट्टाको रुपमा व्याख्या गरेका छन् ।
राष्ट्रपति म्याक्रोनले स्वयं यसबारे प्रतिक्रिया दिँदै भने, “यो कुनै झगडा थिएन, यो त हाम्रो सामान्य ‘प्लेफाइट’ अर्थात् रमाइलो ठट्टा हो ।” उनले थपे, “यस्ता सामान्य क्षणहरूलाई तोडमोड गरी अफवाह फैलाउने प्रवृत्ति गलत हो ।”
एलिसी प्रेसिडेन्सियल प्यालेसले पनि म्याक्रोनको भनाइ समर्थन गर्दै यो दम्पतीबीचको आत्मीयता देखाउने सामान्य क्षण भएको बताएको छ ।
यो घटनाले म्याक्रोन दम्पतीको सम्बन्धप्रति पुनः सार्वजनिक चासो बढाएको छ । ब्रिजिट म्याक्रोन, जो कहिल्यै म्याक्रोनको विद्यालयका शिक्षिका थिइन्, उनीहरूको प्रेमकथा लामो समयदेखि चर्चा र चासोको विषय रहँदै आएको छ । अहिलेको घटनाले त्यो चर्चा फेरि ताजा बनाएको छ ।
