

जनकपुरधाम ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मधेशका प्रदेशसभा सदस्य सरोजसिंह कुशवाहाको घरमा छापा मारेको छ । महोत्तरी क्षेत्र (ख) बाट जसपा नेपालको निर्वाचित प्रदेशसभा सदस्य कुशवाहाको घरमा छापा मारिएको अख्तियार स्रोतले जनाएको छ । मधेश प्रदेश सरकारबाट प्रदेशसभा सदस्य कुशवाहाले पाएका योजनाहरू बिक्री गरेको सूचनाको आधारमा अख्तियार टोलीले उनको घरमा छापा मारेको हो । उनको घरबाट विभिन्न योजनाका फाइलहरु अख्तियारले नियन्त्रणमा लिएको हो ।
छापामारीको क्रममा अख्तियारले उनको स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई नियन्त्रणमा लिएको छ ।
कुशवाहाका स्वकीय सचिव कायस्थ पक्राउ परे पनि प्रदेशसभा सदस्य कुशवाहा भने सम्पर्कविहीन छन् । कुशवाहा मधेस प्रदेशको पूर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री समेत हुन् ।
