Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संसद बैठकमै अष्ट्रेलियन सांसदले जुत्तामा खन्याएर पिए बियर





एजेन्सी ।
अष्ट्रेलियाका एक सांसद काइल म्याकगिनले संसद बैठकमा जुत्तामा बियर राखेर पिएका छन् । संसदमा आफ्नो अन्तिम सम्बोधनपछि उनले गरेको यो क्रियाकलापको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ ।
भिडियोमा सांसद काइल म्याकगिनले सम्बोधन गरिसकेपछि आफूले लगाएको स्निकर्स जुत्ता खोल्छन्, त्यसमा बियर खन्याउँछन् र ‘चियर्स’ भन्दै त्यही जुत्ताबाट घटघट बियर पिएको देखिन्छ ।
काइलको यस शैलीले संसदमै सबैलाई अचम्ममा पारेको छ । केही सांसदहरुले भने ताली बजाएर काइलको समर्थन गरेको पनि देखिन्छ ।
यद्यपि धेरैलाई अष्ट्रेलियाली सांसद काइल म्याकगिनको यो तरिका अचम्म लागिरहेको छ, तर वास्तवमा यो अष्ट्रेलियाली संस्कृतिको एक प्रसिद्ध परम्परा हो, जसलाई ‘शूई’ भनिन्छ ।
न्यूयोर्क टाइम्सको २०१९को एक रिपोर्टअनुसार, यो अष्ट्रेलियाली संस्कृतिको एउटा परम्परा हो, जसमा मानिसहरूले कुनै विशेष अवसर, उत्सव वा पार्टीमा कसैको जुत्तामा रक्सी, विशेषगरी बियर खन्याएर पिउँछन् र त्यही भिजेको जुत्ता फेरि उक्त व्यक्तिलाई लगाउन दिन्छन् ।
यद्यपि शूईको सुरुको यथार्थ कथा के हो भन्ने स्पष्ट जानकारी छैन, तर धेरै प्रसिद्ध व्यक्तिहरूले यो परम्परालाई अँगालेका छन् ।
यो परम्परा अपनाउनेहरूको सूचीमा अष्ट्रेलियाली फर्मुला वान चालक ड्यानियल रिकियार्डो, फिल्म स्टारहरू सर प्याट्रिक स्टुअर्ट, जिमी फालन, ह्यू ग्रान्ट र जेरार्ड बटलरको नाम समावेश छ । त्यस्तै, संगीतकारहरूमध्ये मेशिन गन केली र स्टम्र्जीको नाम पनि यो सूचीमा पर्छ ।
सिड्नी मर्निङ हेराल्डको रिपोर्टअनुसार, सांसद काइल म्याकगिनले संसदको अन्तिम दिनलाई यादगार बनाउन धेरै सोचविचार गरेपछि जुत्तामा राखेर बियर पिएको प्रतिक्रिया दिएका छन् ।
गोल्डफिल्ड्स क्षेत्रका जनतालाई यही तरिका मन पर्ने ठानेर आफूले जुत्तामा राखेर बियर पिएको बताउँदै उनले भने, ‘म गाली खाँदै आएको मान्छे हुँ, त्यसैले यसलाई पनि सहेरै सकाउँछु, तर म पश्चिमी अष्ट्रेलियाका सबै सदस्यहरू र मतदाताहरूलाई दुई उत्कृष्ट कार्यकालका लागि धन्यवाद दिन चाहन्छु । चियर्स !’
यति भन्दै सांसद काइल म्याकगिनले जुत्तामा बियर खन्याउँछन् र त्यही जुत्ताबाट बियर पिउन थाल्छन् ।