Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बालबालिकामा हुने मनोवैज्ञानिक समस्या

समाधानको उपाय





बालबालिकाको बानी सुधार्ने कुरामा अभिभावकको ठूलो हात हुन्छ । बालबालिकाले गरेको राम्रो कामलाई प्रोत्साहन दिने र नराम्रो कुरालाई रोक्ने उपाय सिकाउँदा उनीहरूको भविष्य सुन्दर हुन्छ ।

त्यसका विपरीत बालबालिकाको बानी र अभिभावकको जिम्मेवारी नमिल्दा गलत सिकाइ हुन जान्छ । यसमा स्कुलका शिक्षकको पनि उत्तिकै ठूलो भूमिका रहन्छ । बालबालिकाले गलत काम गरे पनि अभिभावकले ढाकछोप गर्न खोज्ने क्रम बारम्बार दोहोरिए उनीहरूलाई नराम्रो कुरामा अघि सर्न प्रोत्साहन मिल्छ । बालबालिकाले गरेको राम्रो काममा अभिभावकले स्यावासी वा पुरस्कार नदिँदा पनि नराम्रो कुरा गर्न प्रोत्साहन मिल्छ । त्यसैले अभिभावकले बालबालिकाको मनोविज्ञान बुझ्नु आवश्यक छ । बालबालिकामा विभिन्न खालका मनोवैज्ञानिक समस्या हुन्छन् ।

१. बढी रिसाउने : कतिपय बालबालिका ५–६ वर्षमा बढी रिसाउँछन् जुन साधारण हो तर त्यस्तो व्यवहार निरन्तर कायम रहे पछि गएर मनोवैज्ञानिक समस्या उत्पन्न गर्छ । अभिभावकले रिसाउने बानी घटाउने प्रयास गर्नुपर्छ । आफ्नो प्रयास सार्थक नभए सम्बन्धित विशेषज्ञको सल्लाह लिनुपर्छ ।

२. निद्रा गडबढ हुने समस्या : बालबालिकाहरू राति नसुत्ने तर दिउँसो सुत्ने, निद्रामा उठेर हिँड्ने तथा निद्रामा अत्यधिक डराउने समस्या पाइन्छ ।

३. खाने समस्या : कतिपय बालबालिका गुलियो मात्र रुचाउँछन् । कोही कुनै वस्तु खान पटक्कै रुचाउँदैनन् । यसबाहेक कतिपय बालबालिकाको माटो, ढुङ्गा, कागज खाने बानी हुन्छ । यस्ता बालबालिकामा रक्तअल्पता भएको हुन सक्छ ।

४. अत्यधिक डराउने समस्या : बालबालिका अलिअलि डराउनु स्वाभाविक हो तर अत्यधिक डराउनु मनोवैज्ञानिक समस्या हो । डराउने वस्तुसँग विस्तारै घुलमेल गर्दा त्यो समस्या घट्छ ।

५. डिप्रेसन : कहिलेकाहीँ बालबालिकामा डिप्रेसन पनि देखिन्छ । खासगरी रिसाउने, बिर्सने, पेट दुख्ने, रोइरहने, बढी निद्रा लाग्ने आदि लक्षण पनि देखिन्छन् ।

६. स्कुल जान नमान्नु : कतिपय बालबालिका स्कुल जान नमान्ने । स्कुल जानुपर्दा पेट दुख्ने, टाउको दुख्ने, बान्ता गर्ने कारण पनि मनोवैज्ञानिक हो । स्कुल जान नमान्ने कारण शिक्षकदेखि डराउनु, साथीभाइले कुट्नु, नयाँ स्कुलमा भर्ना हुनु आदि हुन सक्छन् ।

७. अनियमित पिसाब : ५ वर्षभन्दा कम उमेरमा बालबालिकाले पिसाब नियन्त्रण गर्न नसक्नु सामान्य हो तर ५ वर्षभन्दा बढी उमेरमा पनि यो समस्या कायम रह्यो भने त्यसको उपचार गराउनुपर्छ ।

८. दिसा छुट्नु : बालबालिकाहरू चार वर्ष भैसकेपछि पनि दिसा छुट्ने भए त्यसको उपचार गराउनुपर्छ ।

९. सामाजिक नियम पालना नगर्नु : कतिपय बालबालिकामा तोडफोड गर्ने, चोर्ने, झूटो बोल्ने, अटेरी हुने, कुटपिट गर्ने, स्कुलबाट भाग्ने, सामान फुटाइदिने आदि समस्या देखिन्छ । यसलाई कन्डक्ट डिसअर्डर (सामाजिक नियम पालना नगर्ने) भनिन्छ ।

१०. बढी छुकछुक गर्ने : कतिपय बालबालिका बढी छुकछुक गर्छन् । कुनै काममा एकाग्र भएर लाग्न सक्दैनन् । उनीहरू मनमा जे आयो त्यही गर्छन्, खतरासँग खेल्छन् । कतिपय अवस्थामा उनीहरू दुर्घटनामा पर्ने सम्भावना पनि हुन्छ ।

११. सबैसँग नबोल्ने : कतिपय बालबालिका घरमा सबैसँग बोले पनि स्कुलमा नबोल्ने हुन्छन् । कोही परिचित मानिससँग मात्र बोल्छन् तर अरूसँग बोल्दैनन् । यसलाई इलेक्टिभ म्युटिज्म (विशेष व्यक्ति सँग नबोल्ने भनिन्छ) ।

१२. भकभकाउने : कतिपय बालबालिका भकभकाएर बोल्छन् । यो साइकोलोनिकल कारणले हुन्छ । डराउँदा पनि यस्तो हुन्छ ।

१३. छारे रोग : बालबालिकामा हातखुट्टा कडा हुने, काम्ने, मुखबाट फिँज आउने र लड्ने छारे रोग हुन्छ । कतिपय बालबालिकामा १–२ मिनेट टोलाई बस्ने, हातखुट्टा चलाउन नसक्ने रोग देखिन्छ । यो पनि एक किसिमको छारे रोग हो ।

१४. कन्भर्सन (कन्भर्सन डिसोसिएटिभ डिसअर्डर) : यस्तो समस्यालाई हिस्टेरिया भनिन्छ । सुरुमा काम्ने, बक्ने, नबोल्ने, हातखट्टा फाल्ने, कहिले स्वाँस्वाँ गर्ने आदि पनि यो रोगको लक्षण हो ।

१५ सुस्त मनस्थिति : बालबालिकाको उमेर वृद्धिअनुसार बुद्धि विकास नहुनुलाई सुस्त मनस्थिति भनिन्छ । यस्ता बालबालिकालाई अरूलाई भन्दा फरक किसिमले सिकाउनुपर्छ । उसको बुद्धिअनुसारको काम दिनुपर्छ ।

उपचार

–बालबालिकाको समस्या तथा रोगको पहिचान गर्न सम्बन्धित चिकित्सकको परामर्श लिने ।

–बालबालिकाको बानी सुधार्न प्रोत्साहन दिने ।

–यसका लागि काउन्सिलिङ, साइकोथेरापीका साथै कतिपय रोगमा औषधि प्रयोग गरिन्छ ।

–छारे रोगका लागि चार वर्षसम्म औषधि ख्वाउनुपर्ने हुनसक्छ ।