

पर्यावरण हामी कसैका लागि पनि नौलो विषय होइन । वातावरण र जलवायुलाई पनि पर्यावरणको समान अर्थका रुपमा प्रयोग गरिन्छ । हामीले टेकेको जमिन, दैनिक प्रयोगमा आउने जल, प्रतिपल फेरिने हावाको स्रोत जंगल र यहाँभित्र रहेका जीवहरु सबै पर्यावरण हुन् ।
यसरी हेर्दा मानिस आफै पर्यावरणको अंग हो । मानव समाज यही जल, जमिन, जंगल र जनवारसँगको आफ्नो सम्बन्धमा विकास गर्दै यहाँ आइपुगेको हो । सारमा हाम्रा वरिपरि भएका प्राकृतिक सबै वस्तुको जोडलाई नै पर्यावरणका रुपमा बुझ्न सकिन्छ ।
जल-मानिस सम्बन्ध
हिमालमा रहेको हिउँ र बरफले ढाकेका क्षेत्र, ७० प्रतिशत क्षेत्रफल ओगटेको समुद्र, ताल, दह, नाला, नदी, खहरे, खोल्सा र वर्षाका भेल सबै जल हुन । यही जलका स्रोत आसपास संसारभरि मानव सभ्यता, बस्ती र नगरको विकास भएको पाइन्छ । यस्ता जलका स्रोतसँग मानिस र समुदायको ऐतिहासिक, सांस्कृतिक, सामाजिक, आर्थिक र राजनीतिक सम्बन्ध र मूल्य मान्यता स्थापित भएको पाइन्छ ।
जलका स्रोत हाम्रा जीवन चलाउने एउटा आधार पनि हो । हामीले विकास गरेका कृषि उत्पादन प्रणाली कुलो, पैनी, नहरजस्ता सिँचाइका प्रणाली वरदान साबित भएका छन् । आधुनिक समाजको जलसँगको सम्बन्ध अझै प्रगाढ भएको छ ।
जमिन-मानिस सम्बन्ध
जमिन पर्यावरणको महत्वपूर्ण अंश हो । जमिन पृथ्वीमा रहेका स्थलीय जीव र जनावरका लागि जीवनको आधार हो । उनीहरुको बासस्थान, आहारा, पानीको सञ्चय गर्नेदेखि लिएर जैविक विविधताका लागि पनि जमिनले भूमिका खेल्छ । मानव समाज विकासको सिद्धान्तले मानिस ढुंगेदेखि कृषि युग हुँदै अहिले औद्योगिक युगमा आएका हौं । हाम्रो जमिनसँगको सम्बन्ध र उपयोग गर्ने तौरतरिकामा समाज विकाससँगै बदलाव आएको पाइन्छ ।
मानव समाज कृषि युगमा प्रवेशसँगै जमिनमाथिको हाम्रो निर्भरता बढ्यो । यसपछि जमिन जीविकोपार्जन गर्न अति आवश्यक साधन बन्यो । समाजमा जमिनको अवस्था, बनावट, उर्वरताअनुसार नै हाम्रा उत्पादन प्रणालीको विकास भएको पाइन्छ । योसँगै जमिनले मानिसका सांस्कृतिक, भाषिक, धार्मिक, ऐतिहासिक, रहनसहन र पहिरनजस्ता विषयमा प्रत्यक्ष प्रभाव पार्यो ।
समाज विकासका क्रममा जमिनको स्वामित्व भएकाहरु शासक वर्ग बन्दै गए । उनीहरुले राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक, साहित्यिकजस्ता सबै संरचनामा जरा फैलाउँदै आफू र आफ्नाको हित गर्ने सामाजिक संरचनाको आविष्कार गरे । त्यस्तै स्वामित्वबाट अलग गरिएका मानिस दासमा रुपान्तरित हुँदै गए । यसैको परिणामस्वरुप नेपालमा दलित, आदिवासी, जनजाति, महिलाहरु जमिनको स्वामित्वबाट अलग गरिए ।
जंगल-मानिसको सम्बन्ध
जंगल पर्यावरणको अर्को महत्वपूर्ण पाटो हो । जंगललाई समाजको सास फेर्ने फोक्सो पनि भनिन्छ । जंगलले कार्बनडाइअक्साइड लिएर सास फेर्न आवश्यक अक्सिजन दिन्छ । जंगल धेरै जनावरको खाना र बासको थलो पनि हो । मानिसका लागि पनि जंगल खाना, घाँस दाउरा, ऊर्जा, काठ, जडिबुटी, फलफूलको स्रोत हो । नेपालमा ‘हरियो वन नेपालको धन’ भन्ने लोकप्रिय नारा प्रचलनमा रहेको छ । यसले जंगलको महत्व र उपयोगितालाई दर्शाउँछ । जति समाजले आधुनिकता र विकासमा गति लिँदै गयो त्यति नै जगंलको महत्व बढ्दै गएको पाइन्छ । मानवीय कारण पर्यावरणमा देखिएको संकटलाई घटाउन पनि जंगलले महत्वपूर्ण योगदान गर्छ ।
मानव समाजको सुरुवातदेखि अहिलेको अवस्थामा आउन हामीले विकास गरेको पर्यावरणसँगको सम्बन्धको विस्तारको परिणाम हो । मानिसले विकास गरेको जल, जमिन, जंगल र यहाँभित्र रहेका जनवारसँगको सम्बन्धका परिणाम सधैं सकारात्मक भएनन् ।
पर्यावरणीय परिवर्तनका कारण घटेका घटनाले मानिसले विकास गरेको पर्यावरणसँगको सम्बन्धमा प्रश्न उठाएका छन् । कतिपय अवस्थामा हाम्रा सम्बन्ध सहकार्यमा मात्र सीमित नभएर दोहनसम्म पुगे । विकासको चाहनामा चुर्लुम्म डुबेर विकास र प्रगति मात्र जीवनको उद्देश्य भन्ने भाष्य बोकेको मानवले पर्यावरणको दोहनलाई सामान्य मान्यो । जसरी पर्यावरण मानिससँग सम्बन्धित छ, त्यसरी नै जल, जमिन, जंगल, जनावरको पनि एकापसमा सम्बन्धहरु छन् । आज मानवीय कारणले हाम्रो र पर्यावरणको मात्र नभएर पर्यावरणका विभिन्न अवयवबीचको सन्तुलनमा पनि नकारात्मक प्रभाव परेको देखिन्छ ।
पर्यावरण चिन्तन किन आवश्यक ?
मानिस सर्वश्रेष्ठ प्राणी हो । यो मानिसको स्वघोषणा हो । हामीले यसलाई घोषणामा मात्र सीमित गरेनौं । हामीले यसमाथि आफ्नो दाबी देखाउँदै दबाउने र कब्जा गर्ने व्यवहार गर्न थाल्यौं । पर्यावरणलाई देशदेशबीच र तेरोमेरो गरेर हारालुछ गर्यौं । हामीले आफू सर्वश्रेष्ठ भएको दाबी पुर्याउन पर्यावरणमाथि प्रहार गरिरहेका छौं । सन्तुलित रुपमा चलिरहेको हाम्रो सम्बन्ध आधुनिकताको चाहनाले परिवर्तन हुँदै बिस्तारै दोहनको दिशामा अघि बढेको देखिन्छ । मानिसले नाफाका लागि जसरी श्रमको शोषण गर्यौं त्यसरी नै पर्यावरणको पनि शोषण गर्दै गयौं । धेरै मानिसले आफूलाई पर्यावरणभित्रको अंगभन्दा पनि आफूलाई यसबाट अलग गर्दै यसलाई उपभोगको वस्तुका रुपमा देख्यौं । आधुनिकता र विकासका नाममा मानिस पर्यावरणको मालिक बन्यो । यसरी बिस्तारै हाम्रा सन्तुलित सम्बन्ध टुट्दै गए । यसले हाम्रो हजारौं वर्षदेखि चलिरहेको पर्यावरणमैत्री चिन्तन, व्यवहार र ज्ञानलाई विस्थापित पनि गर्दै गयो ।
हामीले पर्यावरणसँगै सम्बन्ध बनाएर जीवन चलाइरहेका मानिस, समुदायलाई अविकसित र असफल हुन् भन्ने भाष्य निर्माण गर्यौं । ठीक विपरीत पर्यावरणको दोहन गरेर वैभव हासिल गरेका मानिस र समाजलाई विकसित र सफल मान्यौं । शिक्षाको प्रयोग गरेर पर्यावरणभित्रै रमाएर बसेका समुदायलाई अशिक्षित भन्यौं । अज्ञानी भन्यौं । अल्पविकसित भनिदियौं । अनि भौतिक विकास र प्रगतिलाई जीवनको लक्ष्य बनाउने दौडमा सहभागी हुन शिक्षा दियौं । यो शिक्षाले मानिसको पर्यावरणसँगको सम्बन्ध टुटाउन सहयोगी बन्यो । हाम्रा वरिपरि भएका खोला, कुवा, कुलेसो, धारा, नदी, कृषि प्रणाली, जमिन र जंगलको अवस्था र बाढी, पहिरो, तापक्रमको वृद्धि, समुद्रको सतह बढ्नु, अति वर्षा र अल्प वर्षा हुनुजस्ता प्राकृतिक विपत्तिले पनि पर्यावरण संकटतिर इसारा गरिरहेका छन् ।
पर्यावरणीय संकटका आयाम
पर्यावरणीय संकटले सबै मानिसलाई उस्तै प्रभाव पर्छ भन्ने लाग्न सक्छ । तर, यसको प्रभाव सामाजिक संरचनाको पिँधमा पारिएका समुदाय, जाति, लिंग र राष्ट्रमा धेरै परिरहेको हुन्छ । उनीहरु विकास र आधुनिकताको दौडमा मात्र पछाडि छुट्दैनन् । पर्यावरणीय संकटको न्यूनीकरण र अनुकूलन गर्ने प्रक्रियामा पनि छुट्छन् । यो संकट निम्त्याउन दोषीहरु भन्दा पनि सामाजिक संरचनामा पिँधमा छोडिएका मानिस यसका कारण थप असमानता र दुःखको खेप्न बाध्य भएका छन् ।
पर्यावरणीय संकटको प्रझाव कुनै व्यक्ति, समाज र राष्ट्रमा मात्र सीमित रहन सक्दैन । यसका प्रलय संसारभरि जताततै देखिएका छन् । यसका मुद्दा र सवाल पनि विश्वभरिबाट उठिरहेका छन् । यस्ता संकटबाट जोगाउने अभियान र आन्दोलन विश्वमा ठाउँठाउँबाट उठेका छन् । पर्यावरणीय संकट औद्यौगीकरणको सुरुवातसँगै सुरु भएको विकास र प्रगतिको दौडको परिणाम नै हो । मात्रा र परिणाममा तलमाथि भए पनि यस दौडमा लागेका हामी सबै यस अवस्थाका लागी दोषी हौं । त्यसैले पनि पर्यावरणको विषयमा हामी सबैले सामूहिक चिन्तन, छलफल र व्यवहारमा परिवर्तन गर्न साझा धारणा निर्माण गर्नुपर्छ । नगरे मानिससँगै पृथ्वीकै अस्तित्व संकट पर्ने देखिन्छ । यो संकटको कारक मानिस भएकाले यसको निवारणको प्रयास पनि मानिसबाट हुनुपर्छ ।
पर्यावरण हाम्रो साझा विषय भएकाले समाधानको प्रयास पनि हाम्रा साझा हुन् । यसले हाम्रो आजको विकास र प्रगतिको अवधारणामा कठोर भएर पुनर्विचार गर्न आवश्यक देखिन्छ ।
आधुनिक समाजका जटिलता धेरै छन् । नेपाली समाजमा पनि राजनीतिक, आर्थिक, लैंगिक, जातीय, वर्गीय, धार्मिक, स्वतन्त्रता, समानता, सामाजिक, सुशासन, लोकतन्त्र, समाजवाद जस्ता धेरै विषयमा जटिलता रहेका छन् । यी जटिलताका बाबजुद पर्यावरण नै नरहे हाम्रो समाजसँगै पृथ्वी नै नरहने अवस्था नआउला भन्न सकिँदैन । त्यसैले पनि पर्यावरण अबको चिन्तनको मियो हुनुपर्छ ।
जबसम्म मानिस आफू पर्यावरणसँगै थियो, त्यतिबेला मानिसका कर्म, व्यवहार पर्यावरण विनाशको बाटोमा थिएनन् । त्यसैले पनि पर्यावरणीय संकटको विषयमा चिन्तन, मनन, छलफल र बहस गरिराख्नुपर्ने अवस्था नै आएन । आदिवासी, जनजाति समुदायसँग पर्यावरण जोगाउने उपाय र सम्बन्ध अझै जीवित रहेका धेरै उदाहरण छन् । त्यसैले यस्ता पर्यावरण बचाउने ज्ञान, सीप र उपायलाई प्रवर्द्धन गर्ने शिक्षा, बहस र छलफलले समाजमा स्थान पाउन जरुरी छ । हरितगृह ग्यास र खनिज पदार्थ उत्पादक ठूलाठूला उद्योग, कलकारखाना वा हातहतियार बनाउने कम्पनीहरुले यस विषयमा चिन्तन गर्दैनन् । त्यसैले पनि पर्यावरणको विषयमा विचार, चिन्तन, मनन र व्यावहारिक परिवर्तन गर्न सजग गराउने तपाईं हाम्रो सामूहिक जिम्मेवारी हो ।
यसै सन्दर्भमा रिडर्स झापाले आयोजना गर्दै आएको कला साहित्य उत्सवको पाँचौं संस्करणमा पर्यावरण मुद्दा केन्द्रीय विषय बन्दै छ । यहाँ पर्यावरणका आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक आयाममा घनीभूत छलफल र विमर्श हुनेछ । यसले स्थानीयस्तरदेखि राष्ट्रिय र अन्तराष्ट्रियमा भएका पर्यावरण जोगाउने प्रयास, अभियान र आन्दोलनबाट बुझ्ने, सिक्ने र सिकाउने अवसर निर्माण गर्न खोजिरहेको छ । यो पर्यावरणमा देखिने चुनौतीको समाधान खोज्ने र अनुभव साट्ने थलो पनि हो । पर्यावरणमैत्री व्यावहारिक ज्ञान र सीप प्रवर्द्धन गर्न र यसलाई बहसको विषय बनाउन बुधबारदेखि तीन दिनसम्म झापाको काँकरभिट्टामा चल्ने कला साहित्य उत्सवमा सबैलाई निम्तो ।
