

काठमाडौं।
स्वास्थ्य सचिव बढुवामा नपरेपछि डा. संगीता कौशल मिश्र साढे दुई महिनादेखि बिदामा छिन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार डा. मिश्रले सञ्चित बिदामार्फत पटक–पटक बिदा थप गर्दै आएकी छिन् ।
‘उहाँले पछिल्लो पटक बिदा थप गरी आगमी शनिबार (१७ जेठ) सम्मको बिदा लिनुभएको छ,’ डा. बुढाथोकीले भने, ‘सञ्चित बिदा सकिएपछि हाजिर हुनुहुन्छ कि भन्ने आश छ ।’
सरकारले आफूभन्दा जुनियरमा व्यक्तिलाई सचिवमा बढुवा गरेका कारण मातहत बसेर काम नगर्ने भन्दै सर्वोच्च अदालतमा १ चैतमा रिट दायर गरेकी थिइन् ।
उनको रिटमाथि ३ चैत गते पहिलो सुनुवाइ भएको थियो । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा भएको सुनुवाइपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी गरिएको थियो ।
८ चैत गते भएको अर्को सुनुवाइमा सर्वोच्चले सरकारसँग स्वास्थ्य सचिव नियुक्ति प्रक्रियाको फाइल मगाउने आदेश दिएको थियो । २० चैतमा न्यायाधीशद्वय मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ ।
अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्रले अहिले बिदामा नै भएको बताइन् । ‘अझै पाउनुपर्ने १०–१५ दिन बिदा बाँकी नै छ । अदालतमा पेसी सरेको सर्यै छ,’ उनले भनिन्, ‘ हेरौं अब कहिले सुनुवाइ हुन्छ ।’
तपाई कहिले मन्त्रालय फर्किनुहन्छ भन्ने प्रश्नमा उनले सरकारले गल्ती स्वीकार गरेर सम्माजनक व्यवस्थापन गरे काममा फर्किने उनले बताइन् । ‘सरकारले गल्ती गरेपछि केही व्यवस्थापन गर्यो भने ठिकै छ । भएन भने अन्य कुरा सोचौंला,’ उनले भनिन् ।
सरकार विरुद्धको मुद्दा अधिकारका लागि लडाइँ लडेको उनले बताइन् । ‘स्वास्थ्यमन्त्रीले ऐनको कुरालाई ठाडै उल्लन गरेर निर्णय गर्नुभयो । म तीन नम्बरमा सिफारिस भएको भए पनि संविधानको धारा अनुसार माथि ल्याउनुपर्ने हो,’ उनले भनिन्, ‘तर एक नम्बरमा हुँदाहुँदै मलाई जिम्मेवारी दिइएन ।’
सरकारले स्वास्थ्य सचिव नियुक्त गर्दा स्वास्थ्य सेवा ऐन नभई निजामति ऐनलाई टेकेर गरेकाले उक्त निर्णय गलत भएको डा.मिश्रले बताइन् । स्वास्थ्य सेवा ऐनको दफा १९ मा बरिष्ठताकै आधारमा सचिव नियुक्त गर्ने भन्ने स्पष्ट रुपमा लेखिएको उनको दावी छ ।
यसअघि स्वास्थ्य सचिव नियुक्त गर्दा कहिल्यै बरिष्ठता नमिचिएको र अहिले मात्र यस्तो भएकोले डा.मिश्रको भनाइ छ ।
