

वीरगन्ज ।
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी, किट) का प्रतिनिधिहरू यतिबेला वीरगन्जमा सक्रिय छन् ।
दुई महिनाअघि मात्रै दुई नेपाली विद्यार्थीको रहस्यमय मृत्युका कारण बदनाम बनेको किटले नेपालबाट विद्यार्थी आकर्षित गर्न ‘नयाँ भर्ना अभियान’ सुरु गरेको छ ।
वीरगन्जमा एक हप्तादेखि क्याम्प गाडेका उनीहरू कलेज, इन्स्टिच्युट र कन्सल्टेन्सीहरूसँग सम्पर्क गरी विद्यार्थीलाई किटमा पठाउन विभिन्न किसिमका प्रलोभन दिइरहेका छन् ।
किटमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल र वीरगन्जकी प्रिसा साहको रहस्यमय मृत्युले नेपालमा ठूलो हल्लीखल्ली मच्चाएको थियो । फागुन ४ मा प्रकृतिले र वैशाख १८ मा प्रिसाले ज्यान गुमाएकी थिइन् ।
प्रकृति लम्सालको मृत्युपछि किटमा अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किएर वीरगन्जमा प्रदर्शनसमेत गरेका थिए । रोचक कुरा के छ भने, त्यही प्रदर्शनकारीको भिडमा प्रिसा साह पनि थिइन्, जो दुई महिनापछि सोही कलेजमा रहस्यमय रूपमा मृत फेला परिन् ।
प्रकृतिको मृत्यु प्रकरणलाई लिएर वीरगन्जमा ठूला प्रदर्शनहरू भए पनि प्रिसाको मृत्यु प्रकरणमा भने एक९दुई दिन मैनबत्ती बालेर न्यायको माग गरिएको बाहेक कुनै ठूलो आन्दोलन देखिएको छैन ।
यसले किटमा नेपाली विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ, तर पनि किटका प्रतिनिधिहरू भने अहिले नेपालमा विद्यार्थी तान्ने अभियानमा जुटेका छन् । उनीहरू विद्यार्थी नेता, कलेजका व्यवस्थापक, कन्सलटेन्सी र इन्स्टिच्युट सञ्चालकहरूलाई प्रभावमा लिएर नयाँ विद्यार्थी भर्ना अभियानमा जुटिरहेका छन् ।
किटका प्रतिनिधिहरूले दुई विद्यार्थीको मृत्युलाई ‘दुर्भाग्यवश’ भएको घटना भन्दै अबदेखि विश्वविद्यालयले यस्ता विषयमा अझ कडा निगरानी गर्ने र नेपाली विद्यार्थीलाई विशेष ध्यान दिने आश्वासन दिइरहेका छन् ।
उनीहरूले जुलाईको पहिलो वा दोस्रो हप्तादेखि नयाँ कक्षा सञ्चालन गर्ने भन्दै नेपालका विद्यार्थीलाई अग्रिम रूपमा फारम भर्न आग्रह गरिरहेका छन् ।
तर, स्रोतका अनुसार किटका प्रतिनिधिहरूले यहाँका कलेज व्यवस्थापन, विद्यार्थी नेता र स्थानीय एजेन्टहरूलाई विभिन्न अफर दिइरहेका छन् । यसमा कलेजलाई डेस्क बेन्च, खेलकुद सामग्री, पढाउने र सिकाउने उपकरणहरू ‘नजराना’ दिनेदेखि लिएर कतिपयलाई विदेश भ्रमण र भारत घुमघामको अफरसमेत दिइएको छ ।
वीरगन्जका होटेलहरूमा उनीहरूसँगको भोजभतेर बाक्लिनुले पनि यस कुरालाई पुष्टि गर्छ । यसले किटले आफ्नो खराब छवि सुधार्न भन्दा पनि विभिन्न प्रलोभन देखाएर नेपाली विद्यार्थीलाई पुनः तान्न खोजेको प्रष्ट देखिन्छ ।
