

काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो निर्वाचन क्षेत्र समिति अन्तर्गतका एक पदाधिकारीलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा तीन दिनका लागि निलम्बन गरेको छ । पार्टीले उक्त निर्णय जेठ ५ गते गरेको हो ।
पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बिना अनुमति केन्द्रीय नेतासँगको भेटका क्रममा मोबाइलमार्फत गोप्य रूपमा भिडियो रेकर्ड गरेको पाइएपछि ती पदाधिकारीमाथि अनुशासनात्मक कारबाहीस्वरूप अस्थायी निलम्बन गरिएको हो ।
‘एक निर्वाचन क्षेत्र उपसंयोजकले अनुमति नलिई पार्टीका केन्द्रीय पदाधिकारीसँगको भेटघाटको गोप्य रेकर्डिङ गरेको पाइयो,’ बुर्लाकोटीले बुधबार भने, ‘पार्टीको आन्तरिक अनुशासन र गोपनीयता उल्लंघन हुने कार्यप्रति गम्भीर ध्यान दिँदै उक्त निर्णय गरिएको हो ।’
पार्टीले ती पदाधिकारीको नाम सार्वजनिक नगरी गोपनीय राखेको छ । व्यक्तिगत प्रतिष्ठामा आँच नपरोस् भन्ने उद्देश्यले निलम्बनमा परेका व्यक्तिको परिचय नखुलाइएको बताइएको छ ।
