

एजेन्सी ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनले युद्धविराम, अझ महत्त्वपूर्ण कुरा युद्ध अन्त्यका लागि ’तुरुन्तै’ वार्ता सुरु गर्ने बताएका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घण्टा कुराकानी गरेको उल्लेख गरेका छन् ।
उनका अनुसार पुटिनसँगको कुराकानी ’धेरै राम्रो’ रह्यो । ट्रम्पले लेखेका छन्, “रुस र युक्रेनले तुरुन्तै युद्धविरामका लागि वार्ता सुरु गर्नेछन् र अझ महत्त्वपूर्ण कुरा– युद्धको अन्त्य गर्नेछन्, जसका सर्त दुई पक्षबीचको सहमतिले निर्धारण गरिनेछ ।“
ट्रम्पले यसबारे युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पनि जानकारी गराइएको बताएका छन् ।
साथै युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मेट्र्ज र फिनल्यान्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टबलाई पनि यसबारे जानकारी गराइएको उनको भनाइ छ ।
पुटिनले शान्तिका लागि रुस युक्रेनसँग ’सम्झौता’का लागि छलफल गर्न तयार रहेको बताएका छन् । यद्यपि, सम्झौतामा के–कस्ता कुरा समावेश हुनेछन् भन्ने कुरा उनले स्पष्ट पारेनन् । पुटिनले आफू ’संकटको मूल कारण’ सम्बोधन गर्न चाहने बताएका छन् ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्य गर्न युक्रेन, रुस, अमेरिका, युरोपेली संघका देश र बेलायतबीच ’उच्च–स्तरीय’ बैठक गर्ने विचार गरिरहेको बताएका छन् । जेलेन्स्कीले अमेरिकालाई छलफलहरूबाट आफूलाई टाढा नराख्न अपिल पनि गरेका छन् ।
बीबीसीका अनुसार उनले भनेका छन्, ’रुसले पनि अर्थपूर्ण वार्तामा संलग्न हुन तत्परता देखाउनु आवश्यक छ ।’
