

जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले हँसपुर नगरपालिकास्थित दुई सामुदायिक विद्यालयको अनुगमन गरेका छन् । मुख्यमन्त्री सिंहले गरेको अनुगमनको क्रममा निजी विद्यालयमा पढ्ने विद्यार्थीको नाम सरकारी विद्यालयमा राखी छात्रवृत्ति प्रदान गरेर अनियमितताको उजागर समेत भएको छ ।
मंगलबार बिहान धनुषाको हँसपुर नगरपालिकास्थित दुई विद्यालयको निरीक्षण गर्दै उनले शिक्षा क्षेत्रमा देखिएको बेथिति तथा विसङ्गतिहरु सार्वजनिक गरेका हुन् ।
मुख्यमन्त्री सिँहले हँसपुर नगरपालिका–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, बघचौडा मा अनुगमनका क्रममा कतिपय विद्यार्थी निजी विद्यालयमा अध्ययनरत रहे पनि तिनको नाम सरकारी विद्यालयमा कायम गरी छात्रवृत्ति र खाजा सुविधा लिइएको तथ्य उजागर गरेका छन् ।
सरकारले विद्यार्थी संख्याका आधारमा सुविधा उपलब्ध गराउने हुँदा कागजमा नाम मात्रको नामाङ्कन गराई वास्तविक विद्यार्थीभन्दा संख्या बढी देखाउने प्रवृत्तिले प्रदेशका धेरै सामुदायिक विद्यालयमा समस्या सिर्जना गरेको छ ।
मुख्यमन्त्री सिँहले शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पालिकाका पदाधिकारी तथा अभिभावकहरूसँग समस्या समाधानका उपायबारे छलफल पनि गरेका थिए ।
मुख्यमन्त्री सिंहले शिक्षाको स्तरमा आईरहेको गिरावटप्रति चिन्ता व्यक्त गर्दै विद्यालय, शिक्षक, अभिभावक सबैले इमान्दार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सिंहले सुधार नभए अनुदान कटौती गर्नेसम्मको चेतावनीसमेत दिए । साथै, भौतिक पूर्वाधार भए पनि गुणस्तरीय शिक्षा नहुनु दुःखद रहेको बताए ।
