Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेबारी राप्रपाले लिने





काठमाडौं ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी पार्टीले लिने घोषणा गरेका छन् । नाजायज रूपमा हिरासतमा राखिएका देशभक्त–राष्ट्रवादी बन्दीहरूको कानूनी प्रक्रियामा राप्रपाले सघाउने उनले बताए ।
राप्रपाको कार्यालयमा संयुक्त जनआन्दोलन समितिको बैठकमा लिङदेनले यस्तो घोषणा गरेसँगै सबै स्वागत गरे । राजसंस्था पक्षधर सबैभन्दा ठूलो दलका रूपमा राप्रपाले गरेको यो जिम्मेवारीबोधको राजावादी नेताहरूले प्रशंसा गरेका छन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत तीनकुने घटनामा पक्राउ परेका सबैको कानूनी प्रक्रियामा लाग्ने आर्थिक दायित्वसमेत राप्रपाले व्यहोर्नेछ ।
‘अहिलेसम्म सबैले आआफ्नो व्यक्तिगत हिसाबले गरिराख्नुभएको थियो, अब सबैको जिम्मेवारी राप्रपाले लिएको छ,’ उनले भने ।
अध्यक्ष लिङदेनले यसका लागि आवश्यक तयारी गर्न राप्रपा सम्बद्ध कानून व्यवसायी संगठन र अधिवक्ताहरूलाई आग्रह समेत गरेका छन् । निःशुल्क कानूनी सहायता प्रदान गरिरहेका कानून व्यवसायीलाई बैठकले धन्यवाद र आभार प्रकट गरेको थियो ।
स्मरणीय छ कि तीनकुनेमा १५ चैतमा भएको राजावादी आन्दोलनको आयोजक राप्रपा थिएन । दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानले यो कार्यक्रमका आयोजना गरेको हो, जसको अपनत्व संयुक्त जनआन्दोलन समितिले समेत लिएको थिए । राप्रपा अध्यक्ष लिङदेन उक्त आन्दोलनमा सहभागी थिएनन् ।
मुख्य आयोजक दुर्गा प्रसाईँ पनि प्रहरी हिरासतमा छन् । राप्रपाले सबैको जिम्मेवारी वहन गर्ने निर्णय गर्दा दुर्गा पनि त्यसभित्र पर्छन् वा पर्दैनन् भन्ने चाहिँ अस्पष्टता देखिएको छ । राप्रपा स्रोतले यो विषयमा अनभिज्ञता दर्शायो ।
स्रोतले भन्यो, ‘अध्यक्षज्यूले कसैको पनि नाम तोक्नुभएको छैन । सबैको जिम्मेवारी लिने भन्नुभएको हिसाबले उहाँ पनि त्यसमा अटाउनु पर्ने हो ।’
राप्रपा र दुर्गा प्रसाईंबीच सुमधुर सम्बन्ध थिएन । प्रसाईँले सार्वजनिक फोरममै राप्रपाको आलोचना गर्ने गरेका थिए ।